गोदावरीमा २७ गते देखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकामा यहि माघ २७ देखि २९ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गोदावरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने बारे जानकारी दिएको हो ।

प्रतियोगिताका लागि नगरपालिका भित्रका ४२ सामुदायिक र २१ संस्थागत गरी ६३ वटा विद्यालयको सहभागिता रहने शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत बिष्णु अवस्थीले बताए । उनले प्रतियोगितामा सहभागिताका लागि एक हप्ता अगाडि देखि विद्यालयलाई सूचना जारी गरेको र सोहि सूचना अनुसार ४२ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाम दर्ता भएको बताए । उनले प्रतियोगिता संचालनका लागि शिवराज भट्टराईको संयोजकत्वमा १८ सदस्यीय समिति पनि गठन गरिसकिएको बताए ।

प्रतियोगितामा भलिबल, कपड्डी, मार्सल आर्ट, एथलेटिक्स र फुटबल खेलहरु खेलाईने भएका छन् । सहभागि विद्यालयहरुमध्ये फुटबल खेलका लागि सबैभन्दा बढी टिमले नाम दर्ता गराएका छन् ।

प्रतियोगिता गोदावरी नगरपालिका – ५ मा रहेको सरस्वती मावि गेटामा हुने भएको छ । प्रतियोगिता गोदावरी-५ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा हुनेछ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने बताईएको छ ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले बताए । प्रतियोगिता संयोजक भट्टराईले प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए ।

गोदावरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि अत्तरियामा रहेको शैलेश्वरीा नमुना माविमा प्रतियोगिता आयोजना गरिएको थियो ।

 

ताजा समाचार