गोदावरीका तत्कालीन प्रशासकीय प्रमुखद्वय सहित अन्य कर्मचारीले पाए सफाई

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रमुख प्रशासकीय जोशीसहित ८ र ७ जनामाथि दुई वटा र विष्टसहित सात, पाँच र छ जनामाथि तीन वटा मुद्धा दर्ता गरिएको थियो । जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसैगरी गोदावरी नगरपालिका, कैलालीमा विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरूमा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै २०७९ जेठ १३ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीसहित १० जनाविरुद्ध थप तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशत्रय खुशी प्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सफाई दिएको हो ।

 

 

ताजा समाचार