कैलालीमा २६ महिला जबरजस्ती करणीको सिकार, प्रहरीमा धाउने बढे

धनगढी, कैलालीमा जबरजस्ती करणीका घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गएका छन्।पछिल्लो केही वर्षयता जबरजस्ती करणीका घटनासम्बन्धी उजुरी बढ्न थालको कैलाली प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को पौष दोस्रो सातासम्म मात्र जबरजस्ती करणीका २६ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकले देखाएको छ। साथै सो अवधिसम्म अपहरण तथा जबरजस्ती करणी सम्वन्धिका एक र जबरजस्ती करणी उद्योगमा थप ९ वटा घटना दर्ता भएको अभिलेख छ।

गत आर्थिक वर्ष २०७९/८० मा जबरजस्ती करणीमा ९० तथा जबरजस्ती करणी उद्योगमा २३ मुद्दा दर्ता भएका थिए। यस्तो घटनाबाट कैलालीका महिला अहिले पनि सुरक्षित छैनन् भन्ने देखाउँछ। मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ।

तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुने व्यवस्था छ। तर पनि जिल्लाभित्र बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन्। धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट हुने गरेको प्रहरी अनुसन्धाबाट खुल्ने गरेको छ। शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले आग्रह गर्दै आए पनि यस्ता घटना भइनै रहेका छन्।

पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी बढेको प्रहरी अधिकारीहरुको तर्क छ। पछिल्लो समय जबरजस्ती करणीको घटनालाई लिएर प्रहरीमा धाउने पीडितको संख्या बढ्न थालेको छ। पीडकलाई हदैसम्म कारवाहीको माग गर्दै पीडितहरु प्रहरी हुँदै अदालतसम्म पुग्ने गरेका छन्।

 

ताजा समाचार