नयाँ भेरिएण्ट ‘जेएन वान’ देखिन थालेपछि गौरीफण्टामा परीक्षण तीव्र

धनगढी, सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहुँ कोभिड संक्रमण देखिन थालेको छ।

भारतमा कोरोना भाइरसको नयाँ भेरिएण्ट ‘जेएन वान’ देखिन थालेपछि गौरीफन्टा नाकामा परीक्षण तीव्र पारिएको छ। पछिल्लो १० दिनमा भारतबाट घर फर्किने ९ जनामा संक्रमण देखिएको छ। गौरीफण्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पुस ३ देखि १३ सम्म ३ सय जनाको एण्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो।

उनका अनुसार भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावाद लगायतका क्षेत्रबाट आउनेमा संक्रमण देखिएको छ। अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिको मात्रै परीक्षण भइरहेको छ। भारतका विभिन्न राज्यमा नयाँ भेरिएण्टको संक्रमण बढिरहेको छ। संक्रमण पुष्टि भएकाहरूको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको साउदले बताए।

नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइएको हो। कञ्चनपुरको गड्डाचौकी नाकामा पनि हेल्थ डेस्कले शंकास्पद व्यक्तिलाई नियमित रूपमा परीक्षण गर्दै आएको छ। भारतमा संक्रमण बढ्न थालेपछि पुस ७ देखि परीक्षण सुरु गरिएको हेल्थ डेस्कका प्रमुख प्रेमसिंह भण्डारीले बताए। गड्डाचौकीमा भने हालसम्म संक्रमण देखिएको छैन।

भण्डारीका अनुसार अहिले दैनिक साढे दुई सय जना नेपालतर्फ भित्रिरहेका छन्। जसमध्ये ३०÷४० जनाको मात्रै परीक्षण भइरहेको छ। भारतको दिल्ली र देहरादुनसम्म चल्नै मैत्री बसहरूले नाकामा रोक्न अटेर गर्दा परीक्षणमा समस्या भएको उनले बताए। नाकामा परीक्षणका लागि बसहरू रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग आग्रह गरिएको उनले बताए। नाकामा परीक्षण नहुँदा र संक्रमण देखिएकालाई पनि सार्वजनिक यातायातमै घरतर्फ पठाउँदा समुदायमै संक्रमण फैलिन सक्ने जोखिम छ।

 

ताजा समाचार