कञ्चनपुरका झण्डै ६ हजार उखु किसानले अनुदान पाउँदै

धनगढी,कञ्चनपुरका झण्डै ६ हजार उखु किसानले अनुदान पाउने भएका छन्। उखु उत्पादन गरेवाफत जिल्लाका किसानले अनुदान पाउने भएका हुन्।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार उखु उत्पादन गरेवाफत जिल्लाभित्रका करिब ६ हजार किसान ३२ करोड ६६ लाख रुपैयाँ अनुदान पाउन योग्य देखिएका छन्। कोष नियन्त्रक सबिना वनले पाँच हजार सात सय ६३ उखु किसानलाई अनुदान रकम वितरण गरिने बताइन्। गत आर्थिक वर्ष २०७९/८० मा उखु बिक्री गरेबापत जिल्लाका किसानले उक्त अनुदान रकम पाउने भएका हुन्।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा रहेको भुक्तानी सिफारिस समितिले गरेको सिफारिसका आधारमा विभिन्न ६ बैंकमार्फत किसानले अनुदान रकम पाउने भएका छन्। केन्द्रबाट उखु किसानका लागि अनुदान रकम वितरण गर्न अख्तियार आइसकेको कार्यालयले जनाएको छ। दुवै उद्योगबाट प्राप्त विवरण र सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने तयारी छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाले आर्थिक वर्ष २०७८/७९ मा उखुको समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय २० रुपैयाँ तोकेको थियो। मन्त्रिपरिषद् बैठकले उखु किसानको अनुदानको रकम भुक्तानी दिने निर्णय यसअघि नै गरिसकेको छ। यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ निर्धारण गरिएको छ।

अब किसानले ७० रुपैयाँ अनुदानसहित ६ सय ३५ रुपैयाँ पाउने भएका छन्। बेलौरी नगरपालिका–१०, शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालि र पुनर्वास नगरपालिका–२, दशरथ बस्तीमा रहेको भागेश्वर केमिकल प्रालिमा गत वर्ष जिल्लाका उखु किसानले बिक्री गरेको उखुबापत यस वर्ष अनुदान रकम पाउन लागेका छन्।

 

ताजा समाचार