विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा

काठमाडौं, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने बताए ।

३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तुरुन्तै अर्को अभियानमा जानै पर्छ । त्यो अभियान विचार निर्माण र विकास निर्माणको अभियान हुनेछ ।’

नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि तीन महिनासम्म जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको थियो । त्यो अभियान एक महिना थपेको माओवादी केन्द्रले यही पुस १६ गते औपचारिक समापन गर्दै छ । अभियान सकिएलगत्तै फेरि अर्को अभियान सुरु गर्ने प्रधानमन्त्री एवम् एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट हामी अर्को अभियान विचार संश्लेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग अन्तर्क्रिया पनि विचारकै विषयमा गर्ने गरी जाँदै छौं,’ मंगलबारको कार्यक्रममा प्रचण्डले भने, ‘यही कुरा यदि पुरा गर्न सक्यौं र हाम्रो मौलिकता, हाम्रो विचारको पहिचान,

त्यसबाट संगठनको ताकत र जनताको ताकत निर्माण गर्न सक्नैपर्छ हामीले । त्यो सक्दाखेरि फेरि हामी हिजोको माओवादीभन्दा जस्तो थियो, त्यही ठाउँमा समाजवादी क्रान्तिकालमा फेरि पुर्याउन सकिन्छ, पुर्याउनैपर्छ ।’प्रधानमन्त्री प्रचण्डले विशेष गरी पार्टीका युवाहरुलाई अध्ययन, चिन्तन मननतिर र विचार विकास गर्ने तिर ध्यान दिन अपिलसमेत गरे ।

 

ताजा समाचार