कैलालीमा दुई लाख क्विन्टल चिनी उत्पादन गर्ने क्षमताको उद्योग कालोसूचीमा

धनगढी, लामो समयदेखि बन्द भएर खण्डहर बनेको सुदूरपश्चिमकै सबैभन्दा ठूलो उद्योग बासुलिङ्ग सुगरमिल पुनः संचालनमा ल्याउनुपर्ने भन्दै सरकार पक्ष र विभिन्न राजनीतिक दलबिच पटकपटक मिलको अध्ययन/अनुगमन हुँदै आएको छ।

दुई दशकदेखि बन्द रहेको सो चिनी मिल पुनर्निर्माण गरेर नयाँ प्रविधिका साथ फेरि संचालनमा ल्याउन सकिने सुगर मिलका संचालक अरुण चन्द बताउँछन्। चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका जेठा छोरा हुन्। उनका अनुसार, विदेशी साझेदार समेत भित्र्याएर चिनी मिल पुनः संचालनमा ल्याउन लागिएको यसअघि बताए पनि काम हुन सकेको छैन्।

नयाँ प्रविधिका साथ फेरी सञ्चालन गर्न कुल दुई अर्ब हाराहारी नयाँ लगानी लाग्ने उनको भनाइ थियो। दुई लाख क्विन्टल चिनी उत्पादन गर्ने सक्षमको उद्योग अहिले कालोसूचीमा छ। २०५१ सालमा सुगर एन्ड जनरल इन्डष्ट्रिजको नामले दर्ता भएको वासुलिङ सुगर मिल २०५४ सालदेखि सञ्चालनमा आए पनि द्वन्द्वको चपेटामा परेर पहिलो पटक २०६१ मा बन्द हुन पुगेको थियो। मिल पुनः सञ्चालनमा आएको वर्ष दिन नपुग्दै बन्द भएको हो। त्यसयता मिल सञ्चालनमा आएको छैन्।

उखु किसान समेत रहेका लम्की–चुहा नगरपालिका–१० का वडाध्यक्ष हर्कबहादुर कठरियाले मिल बन्द हुँदा आफूहरूको लगानी जोखिममा परेको बताए। मिलका सञ्चालक समिति सदस्य डबल शाहका अनुसार मिलले करिब १४ हजार ५ सय उखु किसानलाई झन्डै साढे तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। कैलाली, कञ्चनपुर, बाँके र बर्दिया जिल्लामा उखु खेती गरेका किसानलाई रकम भुक्तानी गर्न बाँकी छ।

मिल बन्द भएपछि किसानको मात्र नभएर मिलमा कार्यरत कर्मचारीहरूले समेत भुक्तानी पाउन बाँकी छ। मिलको स्वामित्वमा साढे ५२ बिघा जमिन छ। मिलमा कृषि विकास बैंक, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषको ५७ करोड २७ लाख २८ हजार ऋण तथा सञ्चालक चन्दको २५ करोड ६४ लाख ३४ हजार समेत गरेर ८२ करोड ८१ लाख ६२ हजार रुपैयाँ लगानी गरिएको छ।

तर बन्द भएपछि बैंकहरुलाई तिर्नुपर्ने ऋण तिर्न नसक्दा सो मिल कालोसूचीमा परेको छ। २०६९ सालमा देशका १० वटा रुग्ण उद्योगको सूचीमा सो मिलले पनि मान्यता पाएको थियो। जस अनुसार सरकारले बैंकको व्याज मिनाहा गराई पुनर्कर्जा दिएर पुनः सञ्चालनमा ल्याउन सकिने व्यवस्था छ। तर सो प्रक्रियामा अझै जान नसकिएको हो। मिलको दैनिक २५ हजार क्विन्टल उखु पेलेर वार्षिक दुई लाख क्विन्टल चिनी उत्पादन गर्ने क्षमता छ। सुरुवाती वर्षहरूमा मिलले वार्षिक ३० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएको थियो।

 

ताजा समाचार