डाक्टर केसी ७२ घण्टाको अनशन तोडेर सेती अस्पताल भर्ना

धनगढी, डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। धनगढीमा ७२ घण्टा अनशसन बसेका डाक्टर केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। अनशन तोडेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए।

स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए। सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो। सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका थिए।

डाक्टर केसीले प्रमुख दुई बुँदे माग राख्दै धनगढीमा अनशन बसेका थिए। सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुगाउनुपर्ने उनको माग छ। साथै यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषय समेत अघि सारेर केसी अनशन बसेका थिए।

सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्ने, एक सय बेडभन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रमहरु शुरु गर्नुपर्ने माग पनि अघि सारिएको छ।

 

ताजा समाचार