भीमदत्तको टाउको

म बाँसको लिङ्गोमा उनिएको
भीमदत्त पन्तको टाउको
टुडिखेलको आकासबाट हेरिरहेछु, दूरसुदूरसम्म:
शाषकहरुका टाउका
मजदूरहरुका काँध
किसानहरुका पैतला ।

देहविहिन शासकहरुले छिनाले मेरो देह
जसलाई हरबखत त्रास हुन्छ
योद्धाहरुका देहको
मजदूरहरुका काँधको
किसानहरुका हातपैतलाको
जे स्वयं तिनीहरुसँग छैनन् ।

मेरो स्वरयन्त्र काटिएको छ
म बोल्न सकिरहेको छैन
मेरो सासनलि काटिएको छ
म सास फेर्न सकिरहेका छैन
मेरो रक्तनलि र केसिकाहरु काटिएका छन
म सजिव हुन सकिरहेको छैन
तर
मेरा आँखाहरु अझै सबुद छन्
जमिनमा उभिदा नदेखिने हरेक दृस्य
बाँसको अग्लो लिङ्गो चढेर तिनले देखिरहेका छन्
बस्तिका मुख्या जिमदारहरु
सीमापारका शासकहरु
हर अड्डाअफिसका हाकिमहरु
राजधानीका दरबारहरु
र जनताको नाममा नाटक मञ्चन गरिरहेका
कथित प्रजातन्त्रवादीहरु !।

मैले चिनेको छैन
देशको वादशाह
विदेशको महामहिम्
सङ्गीनमा फूल सिउँरेर आएका
सातसीमा पारीका शकुनी मित्रहरु
उपहारमा मन्द बिस पठाउने छिमेकी
मैले चिनेको छु, केवल
हिलोमा जिन्दगी डुबाइरहेका भोका किसान
भट्टीमा आफ्नै हड्डी पगालिरहेका निर्धन मजदूर
मुख्याजिमदारका घरगोठमा जोतिएका कमैय कमलरी

तिनीहरुका बोल्न नसक्ने गला
देख्न नसक्ने आँखा
सुन्न नसक्ने कान
गम्न नसक्ने मगज
चाउरी परेका मुहार
दोब्रिएका पेटहरुले
मलाई आगो पठाइरहेछन
मेरा आँखामा हरबखत
त्यही आगोका लप्का उठेका हुन
मेरा रगतका हर कणमा त्यही आगोको प्रवाह भएको हो।
त्यही आगोसँग डराएर
सकेजति दूषित पानी खरिद गरेको हो सत्ताले
र भेल बगाएको हो मैले हिंड्ने हरेक बस्तिमा
तर शाषकहरुले बुझेनन्
भेलले पनि त यौटा बाटो बनाउँछ ।

अहिले म देखिरहेछु
घरेलुको अग्लो ढिस्कोदेखि टुँडिखेलको मैदानसम्म
मेरै घाँटिबाट चुहिएका प्रत्येक थोपा रगत
जसलाई माटोले ग्रहण गरिसकेको छ
अब समयका हरेक अन्तरालमा
तिनै रक्तकणबाट उम्रिनेछन
भीमदत्तको सपनाका मान्छेहरु
र बोल्नेछन् भीमदत्तको गलामा अवरुद्ध भएको आवाज
हिंड्नेछन् भीमदत्त ढलेको बाटोबाट अघिल्तिर
देख्नेछन भीमदत्तले देख्न नपाएको क्षितिज …

मेरा आँखा निस्तेज हुनु अगावै
जन्मिन सुरु हुनेछन
देह टाउको र चेतना सहितका सबल भीमदत्तहरु
सृष्टिकालभरी जन्मिरहनेछन

बाँसको अग्लो लिङ्गोमा उनिएको
म भीमदत्तको टाउको
मेरा आँखा निस्तेज हुनु अगावै उद्घोष गर्दछु –
एक दिन अवस्य
खेत किसानको हुनेछ
कारखाना मजदुरको हुनेछ
र देश जनताको हुनेछ ।

 

ताजा समाचार