धनगढीमा सुदूरपश्चिम महोत्सव २२ गतेदेखि सुरु हुने

धनगढी, धनगढीमा सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा सुदूरपश्चिम महोत्सवको आयोजना गर्ने भएको हो।

महोत्सवको तयारीका लागि कैलाली उद्योग वाणिज्य संघले ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ।

अहिले महोत्सव स्थललाई जस्ता पताले घेरबार गर्ने काम हुँदैछ। महोत्सवका संयोजक समेत रहेका कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवर शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी थालिएको बताए।

उनले चार सय स्टल रहने महोत्सवबाट १० करोडको कारोबार हुने बताएका छन्। पाँच लाखले महोत्सवको अवलोकन गर्ने दाबी कैलाली उद्योग वाणिज्य संघको छ। १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा समेत विद्यार्थीबाट ५० रुपैयाँ र अन्य नागरिकबाट १०० रुपैयाँ प्रति व्यक्ति टिकटको शुल्क निर्धारण गरिएको छ।

 

ताजा समाचार