गेटा अस्पतालमा बिरामीको चाप बढ्दै

धनगढी,कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएपछि बिरामीको चाप दैनिक रुपमा बढ्न थालेको छ। महाकाली र सेती प्रादेशिक अस्पतालबाट समेत ठुलो संख्यामा विरामी उपचार गराउन गेटा अस्पताल पुग्ने गरेका छन्। गेटामा पहिलो पटक गत महिनादेखि अस्पताल सञ्चालनमा आएको हो।

अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गरी करिब पाँच सय विरामीको सफल उपचार भइसकेको छ। साथै ७० जना बिरामीको निःशुल्क उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ। कैलालीको गेटामा कात्तिक १ गतेबाट अस्पताल सञ्चालनमा आएको हो। एक सय शय्या क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूूरा भएपछि अस्पताल सञ्चालनमा ल्याइएको थियो।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा अस्पताल सञ्चालनमा आएपछि महाकाली र सेती प्रादेशिक अस्पतालमा समयमा उपचार नपाएर हैरान बिरामीलाई थोरै भए पनि राहत मिलेको छ। गेटाबाट उपचार सेवा दिन आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध संघीय सरकारले गरेको हो।

अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रिपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो। अहिले अस्पतालमा २४ जना कार्यरत रहेको गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले भने।

‘गेटा अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या दैनिक रुपमा बढ्न थालेको छ। पौष महिनादेखि बिरामीलाई बेड भर्ना गरेरै भए पनि उपचारको प्रबन्ध मिलाइनेछ।’ यसका लागि करारमा कर्मचारी भर्ना गरेर बिरामीको उपचार गर्ने तयारी भइरहेको छ।’ आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय शय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो।

साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि अस्पताल गत महिनादेखि सञ्चालनमा आएको थियो। गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालनमा आएको हो।

अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मीसहित २४ जना जनशक्ति कार्यरत छन्। अस्पतालका लागि सरकारी दरबन्दी एक सय ४१ जनाको छ। आवश्यक कर्मचारी थप गरेर पुस महिनादेखि बिरामी अस्पताल भर्ना गर्ने गरी काम भइरहेको छ।
कात्तिक १ गतेदेखि गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री रोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ।

साथै खोप सेवा विस्तार र अन्तरंग सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पुस महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ। अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा पाँच सय भन्दा बढी बिरामीको उपचार भइसकेको छ भने ७० जनाको निःशुल्क उपचार गरिएको अस्पतालका निर्देशक डाक्टर जोशीले बताए।

‘अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा महाकाली, सेती प्रादेशिक र पहाडी जिल्लाबाट समेत बिरामी आउने गरेका छन्।’ महाकाली र सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले गेटा अस्पतालबाटै सहज रुपमा उपचार सेवा पाउन थालेपछि बिरामी र आफन्त उत्साहित भएका छन्। गेटा अस्पतालमा क्रमिक रुपमा बेड संख्यासंगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम समेत अघि बढाइएको छ।

 

ताजा समाचार