डडेल्धुरा , डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक विस्तारका लागि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरिएको छ। सोमबार अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना हटाउन डोजर चलाएको हो।
घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले डोजर चलाएको नगरपालिका–५ का वडाअध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए।
वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएपछि १३ गते सात दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो।
‘सडक क्षेत्रमा पर्ने संरचना नहटाएपछि बाध्य भएर डोजर लगाएका हौं। डोजर लगाएर सडक र बजार व्यवस्थित गर्ने कार्यमा लागेका छौं,’ उनले भने।
सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ। सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ।