धनगढी, भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।
सञ्चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्। गुरुङले पत्नी सावित्री गुरुङ सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।
उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन । भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गर्दै आएको छ ।
शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्।