बिराटनगर,कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधवार कार्कीको पक्षमा ८६ मत खसेको हो।
विपक्षमा ५ मत मात्रै परेको सभाध्यक्ष एवम् उपसभामुख श्रृजना दनुवारले घोषणा गरिन्। राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षि एमालेले कार्कीलाई विश्वासको मत दिएका हुन्। राप्रपाले उनको विपक्षमा मतदान गरेको हो।