अत्तरिया , कैलालीको अत्तरियामा रहेका गोदावरी होटल व्यवसायी संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिह धामीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना चोखालको अध्यक्षतामा सम्पन्न साधारण सभामा मन्त्री धामी संगै प्रदेशसभा सदस्य तुलसी देवकोटा, खेमा देवी बिष्ट लगायतको सहभागिता रहेको थियो ।
साधारण सभामा संघको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सचिव रविन्द्र खड्काले होटल क्षेत्र व्यवस्थित गर्न थुप्रै काम भएको बताए । उनले संघले हरेक बर्ष होटलमा उपलब्ध परिकारहरुको न्यूनतम मुल्य सूचि निर्धारण गर्ने गरिएको, होटल व्यवसायिहरुको ज्ञान, सिप र दक्षता अभिवृद्धिका लागि बिभिन्न तालिम आयोजना गरिएको, कोरोना महामारीको समयमा
अत्तरियामा अलपत्र यात्रुलाई निःशुल्क खानाको व्यवस्था गर्न सहजिकरण गरेको, होटल व्यवसायिलाई सहज र सुलभ व्याजदरमा ऋण लिन सहजिकरण गरेको, इलाका प्रहरी कार्यालय मालाखेतीको शौचालय निर्माण र सिसिटिभी क्यामेरा जडानमा सहयोग गरिएको बताए ।
उनले होटल व्यवसायी संघले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न सार्वजनिक ठाउँहरुमा सरसफाइ, लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गरिएको बताए । संघले अत्तरिया क्षेत्रका होटललाई व्यवस्थित र मर्यादित बनाउन होटलमा काम गर्ने कर्मचारीको विवरण संकलन गरी इलाका प्रहरी कार्यालय मालाखेतीलाई जानकारी दिने गरेको छ ।
संघले आगामी दिनमा संघमा आवद्ध हुन बाकी होटलहरुलाई सदस्यता लिन लगाउने, होटलहरुमा दक्ष जनशक्ति अभाव परिपूर्तीका लागि बिभिन्न संघसस्थासंग समन्वय र तालिमका कार्यक्रम संचालन गर्ने र होटलहरुको अभिलेख अध्यावधिक गर्ने जनाएको छ । गोदावरी होटल व्यवसायी संघमा हाल ४५० सदस्य आवद्ध छन ।
अत्तरियामा रहेको नमस्ते पार्टी प्यालेसमा भएको संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनको संचालन पत्रकार शारदा फुलाराले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव लक्ष्मण धामीले राखेका थिए ।