धनगढी, धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरी धान नकाट्न सूचना दिन किसानको घर तथा खेतमा पुगेर माइकिङ गरिरहेका छन्।
जल तथा मौसम विज्ञान विभागले १५ गते सोमबारदेखि १७ गते बुधबारसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न र काटेको धान भित्र्याउन सूचना दिन उपमहानगरले नगर प्रहरीलाई किसानको घर तथा खेलबारीमा खटाएको हो। नगर प्रहरीले माइकिङ मार्फत १९ वटै वडामा पुगेर १७ गते यता धान नकाट्न र काटेको धान भित्र्याउन आग्रह गरिरहेका छन्।
किसानलाई मौसमको जानकारी दिएर पानी पर्दा हुने सम्भावित क्षति रोक्न उपमहानगरले नगर प्रहरी मार्फत किसानहरूलाई मौसम सम्बन्धि सूचना प्रदान गरेको उपमहानगरपालिकाले जनाएको छ। गत वर्ष पनि उपमहानगरपालिकाले धान काट्ने समयमा यसरी नै सार्वजनिक रुपमा नगर प्रहरीलाई गाउँगाउँमा खटाएर मौसम सम्बन्धि जानकारी दिएको थियो।
२०७८ कात्तिकको पहिलो साता मौसम सम्बन्धि जानकारी नपाउँदा अविरल वर्षाका कारण सुदूरपश्चिममा काटेको धानमा ठुलो क्षति भएको थियो। सो वर्ष कैलालीमा ४० प्रतिशत धान नष्ट भएको थियो। यो वर्ष भने धनगढी उपमहानगरपालिका र कृषि निर्देशनालयले १५ गतेदेखि १७ गतेसम्म पाकेको धान नकाट्न सार्वजनिक सूचना निकालेका छन्।