५०० हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण

बैतडी , बैतडीमा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । जिल्लाका स्थानीय तहले पर्यावरणीय अध्ययन नगरेर जथाभाबी सडक निर्माण गर्दा वन क्षेत्र अतिक्रमण भएको हो । सडकले ४६६ हेक्टर वन सखाप पारेको छ भने सडक किनारमा घरटहरा ११० हेक्टर गरी ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार अतिक्रमण भएका ठाउँमध्ये मेलौली नगरपालिकामा २७ वटा घरटहरा हटाएर ३० हेक्टर वन क्षेत्र खाली गरिएको छ । पुरचौडी नगरपालिकाको गिरिजाबगर र सिगास गाउँपालिका–१, जुकेपानी र गर्जेमा वन क्षेत्र अतिक्रमण हटाउने प्रयास भइरहेको उनले बताए ।

स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका–६, ढोल्यामोड नजिकको लौठ सल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार गरिएको उनको भनाइ छ । लौठ सल्ला रहेको वसन्त हरियाली वन क्षेत्रको तीन ठाउँमा वन अतिक्रमण भएको सो कार्यालयले जनाएको छ । त्यस्तै ग्वाल्लेक र सिगास संरक्षित वनमा सबैभन्दा बढी लौठ सल्ला रहेका छन् ।

पुरचौडी नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा रहेको वसन्त हरियाली वन क्षेत्रमा तारबार लगाइएको छ ।लौठ सल्लाको पात र बोक्राबाट क्यान्सर रोग निको पार्ने बहुमूल्य औषधी उत्पादनमा प्रयोग हुने गरेको छ ।

लौठ सल्लाको पात, बोक्रा र जरा प्रशोधन गरी क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व निकालिने गरेको विज्ञहरू बताउँछन् । यो रसायन पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्ननलीको क्यान्सर निको पार्न प्रयोगमा रहेको निकै महँगो औषधी रहेको बताइएको छ । लौठ सल्ला जोगाउन वनस्पति अनुसन्धान केन्द्र कैलाली र डिभिजन वन कार्यालय बैतडीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको डिभिजन वन प्रमुख कँडेलले बताए ।

यस्तै डिभिजन वन कार्यालय बैतडीले जिपिएस माध्यमबाट अतिक्रमित वन क्षेत्रको तथ्याङ्क लिएको छ । सो तथ्याङ्क अनुसार दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक संरक्षित वनको गिवाखोला वन र सिगास संरक्षित वनको गर्जेमा वन अतिक्रमण भएको छ । सिगास संरक्षित वनको गर्जेमा २० स्थानमा वन अतिक्रमण भएको हो । संरक्षित वनबाहेक दशरथचन्द नगरपालिका–१, मुस्याचोर बजार क्षेत्रमा वन अतिक्रमण गरी सात वटा घर बनेका छन् ।

त्यस्तै सुर्नया गाउँपालिका–८, ढोल्यामोड र पुरचौडी नगरपालिका–६, स्थित लौठ सल्लाको वन अतिक्रमण गरी ११ वटा घरटहरा बनाइएका छन् । पुरचौडी नगरपालिका–७, रुइनचौड र बडगाउँमा वन अतिक्रमण गरी १८ वटा घरटहरा बनेका छन् । पुरचौडी नगरपालिका–७ कै गिरिजा बगरमा वन क्षेत्र अतिक्रमण गरी बसपार्क निर्माण गरिएको छ ।

सिगास गाउँपालिका–१, विन्द्रावन र जुकेपानीमा सामुदायिक वन अतिक्रमण गरी घरटहरा निर्माण भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

 

ताजा समाचार