स्वस्तिक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति

अत्तरिया , धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले उपचारका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ ।

२२ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएपछि मृतकको परिवारले शव बुझेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए । त्यसक्रममा उनको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि रक्तश्राव रोकिएन, मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिएको भनिए पनि चौधरीको सोमबार भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

चौधरीको मृत्यु भएपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । क्षतिपूूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने उनीहरुको माग थियो । सोमबार राति २२ लाख रुपैयाँमा सहमति जुटेको छ ।

‘उनिहरुले एक करोड रुपैयाँ माग गरेका थिए, तर त्यति ठूलो रकम दिन सक्ने अवस्था थिएन’ अस्पताल स्रोतले भन्यो, ‘अबेर राति २२ लाखमा सहमति भयो । सहमतिअनुसार उनिहरुलाई पैसा दिएपछि शव बुझेर लागेका छन ।’ स्रोत अनुसार अस्पतालले छोराको पढाइ र छोरीको बिहेका लागि १० र १२ लाखको चेक उपलब्ध गराएको छ । मृतकका भतिज राजकुमारले भने अस्पतालले चेक उपलब्ध गराएको स्वीकार गरेका छन् ।

 

ताजा समाचार