धरान घटनाबारे प्रधानमन्त्रीको अपिल: सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहिदिनुहोस्

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानको पछिल्लो अवस्थाका सम्बन्धमा सामाजिक सद्भावका लागि सबैलाई अपिल गरेका छन्।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहिदिन र सद्भावको पक्षमा उभिदिन स्थानीय र सबै धर्मावलम्बीलाई अपिल गरेका छन्।

उनले भनेका छन्, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु।’

कसैले कसैको धर्म र भावनाप्रति नकारात्मकता, द्वैय बढाउने तथा एक अर्कको धर्ममा खलल पार्नेगरी कुनै काम, व्यवहार गर्न निषेध गरिएको पनि प्रधानमन्त्री प्रचण्डले सम्मरण गराएका छन्।

उनले भनेका छन्, ‘कसैले कसैको धर्म र भावनाप्रति नकारात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ। यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन। तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ।’

केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको उनले विज्ञप्तिमार्फत् बताएका छन्।

हरेक समस्या र विमतिहरुलाई संवाद, सहमति र सहकार्यका बलमा समाधान गर्न सकिने भएकाले त्यसतर्फ गम्भीर हुन पनि प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका छन्।

‘हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति,  र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ। तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु’ उनले अपिलमा भनेका छन्।

यस्तो छ प्रधानमन्त्रीको अपिल

pm1693064726.jpg

 

ताजा समाचार