सुदूरपश्चिममा लागुऔषधको जालो भत्काउन युवा लक्षित महाअभियान सुरु

धनगढी,सुदूरपश्चिम प्रदेश प्रहरीले लागुऔषध विरुद्धको युवा लक्षित महाअभियान थालेको छ। लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले लागुऔषध विरुद्धको महाअभियान थालेको हो। प्रहरीले दुर्व्यसनीको ठुलो संख्या युवाहरू भएकाले युवाहरूलाई लागुऔषध विरुद्धको अभियानमा लाग्न प्रेरित गर्न कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको लागुऔषध विरुद्धको महाअभियान वडा हुँदै घरसम्म पुगाइने भएको छ।

लागुऔषधका जालो भत्काउन यस्तो अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ। लागुऔषध मुद्दामा आर्थिक वर्ष २०७६/७७ मा २७० जना पक्राउ परेका छन्। यस्तै, आर्थिक वर्ष २०७७/७८ पक्राउ पर्नेको संख्या बढेर ३९४ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा ५६३ जना लागुऔषध मुद्दामा पक्राउ परेकामा गत आर्थिक वर्ष २०७९/८० मा पक्राउ पर्नेको संख्या ह्वात्तै बढेर ८५६ जना पुगेको छ।

सुदूरपश्चिममा चालु आर्थिक वर्षमा हरेक दिन लागुऔषध ओसारपसार र प्रयोग गरेको घटनामा पक्राउ पर्नेको संख्या वृद्धि भएको प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए। ‘तथ्याङ्कले लागुऔषध मुद्दामा १६–२० वर्ष उमेर समूहका युवा पक्राउ पर्ने दर उच्च छ। युवाहरू लागुऔषध मुद्दामा पक्राउ पर्ने दर उच्च देखिएकाले युवा लक्षित लागुऔषध विरुद्धको महाअभियानका सुरू गरिएको हो,’ उनले भने यो अभियान प्रहरीको मात्रै नभएर संघ संस्था, नागरिक समाज, सरकारी निकाय र समुदायको हो।

सबैसँग साझेदारी गरेर हामी यो अभियान चलाइ रहेका छौँ।’ प्रहरीले लागुऔषध विरुद्धको महाअभियान–२०८० मा किशोरकिशोरी र युवाहरूलाई सचेत बनाउन कलेजहरूमा सचेतना कक्षा सञ्चालन गर्न थालेको छ। धनगढीको एसपिए कलेजबाट सुरु भएको अभियान अन्य सबै कलेज र विद्यालयमा चलाउने योजना प्रहरीको छ। प्रहारीको तथ्याङ्कले लागुऔषध दुर्व्यसनमा १६ देखि २० वर्ष उमेर समूहको संख्या अत्यधिक देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा यो समूहका ७२ जना पक्राउ परेकामा आर्थिक वर्ष २०७८/७९ मा पक्राउ पर्नेको संख्या ११९ पुगेको छ। यस्तै, आर्थिक वर्ष २०७९/८० मा १६८ जना पक्राउ परेका छन्। यसैगरी २१ देखि २५ वर्षको उमेर समूहमा आर्थिक वर्ष २०७७/७८ मा ७५ जना, आर्थिक वर्ष २०७८/७९ मा ७४ र गत आर्थिक वर्षमा १११ जना पक्राउ परेका छन्। तीन वर्षमा लागुऔषध प्रयोग गर्नेमा १० देखि १५ वर्ष समूहका ३१ जना पक्राउ परेका छन्।

लागुऔषध विरुद्धको महाअभियान प्रहरीको मात्रै नभएर समुदायसँगको साझेदारी भएको प्रहरीले बताएको छ। लागुऔषध विरुद्धको महाअभियान हरेक घरसम्म पुगाउने प्रहरी उपरीक्षक चौधरीले बताए। ‘लागुऔषध विरुद्धको महाअभियान प्रहरीको सबै युनिटले सञ्चालन गर्नेछन्। गाउँ–टोल हुँदै घर–घरमा यो अभियान पुगाउने हाम्रो योजना छ।

सबैले आ–आफ्नो तहबाट यो अभियानमा सहभागी भएर लागुऔषध विरुद्ध लाग्न प्रेरणा र हौसला पाउने विश्वास प्रहरीको छ,’ प्रहरी उपरीक्षक चौधरीले भने। सुदूरपश्चिममा तीन वर्षको अवधिमा लागुऔषधका एक हजार १४६ मुद्दा दर्ता भएका छन्। प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा २५३, आर्थिक वर्ष २०७८/७९ मा ३५३ र गत आर्थिक वर्ष २०७९/८० मा ५४० मुद्दा  दर्ता गरेको छ।

 

ताजा समाचार