कांग्रेसले धैर्य राख्दासम्म माओवादीका फुर्ती हुन्, प्रचण्ड र माधवलाई एमालेमा ठाउँ छैन : महासचिव पोखरेल

धनगढी, नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा माओवादी कार्यकर्ताहरूको लागि ढोका खुल्ला रहेको बताएका छन् ।

कैलालीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले माओवादी भित्र बलिदानी गरेका कार्यकर्ताहरूलाई स्वागत गर्ने तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको लागि भने ढोका बन्द रहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘माओवादी भित्र बलिदानी गरेका कार्यकर्ताहरू वामपन्थी आन्दोलनका सम्पत्ति हुन् । बलिदानीका लागि लडेका, राष्ट्रको लागि समाजको लागि केही गर्छु भन्नेहरूको लागि प्रचण्डले धोका दिए पनि हामी स्वागत गर्न तयार छौँ । हामीले स्वागत नगर्ने भनेको दुइटालाई हो । माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दैनौँ अरू बाँकीलाई ढोका खुल्ला छ ।’

माओवादी नेतृत्वको सरकार कांग्रेसले दाबी नगर्दा सम्म मात्रै चल्ने पोख्रेलको दाबी थियो । जुन दिन सरकारमा कांग्रेसले दाबी गर्छ त्यसपछि माओवादीको खेलो सधैको लागि सकिन्छ । कांग्रेसले धैर्य राख्दा सम्म माओवादीका फुर्ती हुन्’, पोखरेलले भने ।

नक्कली शरणार्थी प्रकरणमा आरजू राणा देउवाको नाम आएपछि छानबिन सेलाएको भन्दै उनले सुन प्रकरणमा पनि माओवादी नेताहरूकै नाम आएपछि अनुसन्धान प्रभावित हुन सक्ने बताएका थिए ।

आगामी निर्वाचनमा बलियो शक्ति सहित एकल बहुमतको सरकार गठन गर्ने योजनासहित पार्टी अगाडि बढेको र सोहीअनुसार अघि बढ्ने उनले नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

विगतमा कोरोना सङ्क्रमणमा बेला एमाले नेतृत्वको सरकारले थुप्रै काम गरेको भन्दै पोख्रेलले अहिले डेंगुले जनता आक्रान्त हुँदा र दर्जनौँले ज्यान गुमाउँदा पनि सरकार गम्भीर नभएको बताए । उनले लप्पी स्किनबाट किसानलाई परेको मर्का सरकारले नबुझेको बताए ।

भेलामा सहभागी एमाले सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी प्रति जनाको विश्वास बढिरहेको बताएका थिए । उनले आगामी निर्वाचन मार्फत पार्टीको एकल बहुमतको सरकार गठन गर्न कसैले नरोक्ने दाबी गरे ।

केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले कैलाली जिल्लामा देखिएको पार्टी प्रतिको उत्साहले देश भरी एमाले प्रतिको मोह बढिरहेको सङ्केत गरेको बताएका थिए । आज बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई महासचिव पोख्रेलले स्वागत गरेका थिए ।

 

ताजा समाचार