कञ्चनपुरमा दुई अर्व १५ करोड राजस्व संकलन

महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्व १५ करोड ९३ लाख ६३ हजार राजस्व संकलन गरेको छ । राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्ष २०७९\८० मा उक्त राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा तीन अर्व चार करोड २४ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिईएको थियो ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डोलिन्द्र प्रशाद शर्माले गत आर्थिक वर्षमा लक्ष्यको ७१ प्रतिशत राजस्व संकलन भएको बताए । उनले सम्रग अर्थतन्त्रमा संकचन आउँदा त्यसको असर राजस्व संकलनमा परेको बताए । उनका अनुसार राजस्व कार्यालयले गत आर्थिक वर्षमा, आय कर ६१ करोड ५१ लाख ३८ हजार, मुल्य अभिवृद्धी कर(भ्याट) ६६ करोड चार लाख पाँच हजार, अन्तशुल्क ८४ करोड ४१ लाख ८५ हजार, बहाल कर एक करोड ६६ लाख, ब्याज दुई करोड २८ लाख ९२ हजार र शिक्षा कर ८७ हजार संकलन गरेको छ ।

मदिराजन्य उद्योगको उत्पादन घटेकाले अन्तशुल्क र भ्याटमा कमि आएको प्रमुख कर अधिकृत शर्माको भनाई छ । कञ्चनपुरमा गत आर्थिक वर्षमा मदिराजन्य उद्योगको उत्पादन ३५ प्रतिशत बढीले घटेको छ । ‘देशको सम्रग आर्थिक अवस्था कमजोर हुदाँ त्यसको असर राजस्व संकलनमा परेको छ, केही ठुला करदाता उद्योगको उत्पादन घट्दा राजस्व संकलन कमी आएको हो ।’ प्रमुख कर अधिकृत शर्माले भने ‘अन्य ठाउँको तुलनामा कञ्चनपुरमा राजस्व संकलनको स्थीति राम्रो छ ।’ सरकारले निर्माण व्यवसायीको कर भुक्तानीको समय वृद्धि, कर छुट लगायतको नीति आवलम्बन गरेको कारणले पनि राजस्वले वार्षिक लक्ष्य भेटाउन नसकेको उनको भनाई छ ।

सबै व्यवसायीलाई करको दायरामा ल्याउन र समयमै कर तिर्ने बानिको विकास गराउन करदाता शिक्षा, अभिमुखिकरण कार्यक्रम, बजार अनुगमन लगायतका कार्यक्रम गरिएको राजस्व कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको हालसम्म करिब १० करोड राजस्व बक्यौता रहेको छ । कोरोना संक्रमणका कारण अर्थतन्त्र धरासायी बनेपछि पछिल्ला वर्षहरुमा राजस्व संकलनमा कमि हुदैँ गएको छ ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७\७८ मा दुई अर्व २३ करोड छ लाख राजस्व संकलन गरिएको थियो भने आर्थिक वर्ष २०७८\७९ मा दुई अर्व ५० करोड ७२ लाख ६१ हजार कर संकलन भएको थियो ।

 

ताजा समाचार