अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकाले अत्तरियाको बसपार्कसहित सवारी पार्किङ, कबाडी कर र विज्ञापन कर संकलनका लागि पहिलोपटक बहुवर्षीय ठेक्का आह्वान गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि लागू हुने गरी तीन वर्षका लागि ठेक्का खुला गरेको हो। यसअघि पालिकाले प्रत्येक वर्ष छुट्टाछुट्टै रुपमा ठेक्का प्रक्रिया सञ्चालन गर्दै आएको थियो।
जेठ ३० गतेदेखि सुरु भएको यो प्रक्रिया ई–बिडिङ (इलेक्ट्रोनिक बोलपत्र) प्रणालीमार्फत सम्पन्न हुनेछ। इच्छुक ठेकेदार तथा व्यवसायीहरूले अब १६ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ।
ठेक्काका लागि तोकिएको न्यूनतम कबोल रकम अनुसार, सवारी पार्किङ कर संकलनको लागि ७७ लाख रुपैयाँ (भ्याट बाहेक), कबाडी कर संकलनको लागि ५० लाख रुपैयाँ, र विज्ञापन कर संकलनको लागि ५ लाख रुपैयाँ न्यूनतम कबोल रकम निर्धारण गरिएको छ।
नगरपालिकाले यस कदमलाई राजस्व प्रणाली पारदर्शी, व्यवस्थित र दीर्घकालीन बनाउन गरिएको रणनीतिक प्रयासको रुपमा व्याख्या गरेको छ।
गोदावरी नगरपालिकाले नगरभित्रका स्रोत साधनको अधिकतम उपयोग गर्दै निजी क्षेत्रको साझेदारीमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।