काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिकको तयारी पूरा भइसकेको जनाउँदै अब बोर्डको निर्णयको प्रतीक्षा मात्र रहेको जनाएको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भने, “नतिजा अन्तिम चरणमा पुगेको छ। तर, प्रकाशनको निर्णय बोर्ड बैठकबाट लिनुपर्ने भएकाले अहिले घोषणा गरिएको छैन। सम्भवत: आजै बोर्ड बैठक बस्नेछ।”
परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजा प्रकाशन सम्बन्धी छलफलका लागि आजै बैठक बस्ने तयारी भए तापनि त्यसको समय भने अझै तय नभएको बताए।
यस वर्षको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।