अत्तरिया, कञ्चनपुरकाे कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १ करोड ११ लाख ८२ हजार ४ सय ५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा मंगलबार बसेको १७औं नगर सभाबाट चालू, पूँजीगत र वित्तीय खर्च समेटिएको बजेट पारित भएको हो। नगर उप-प्रमुख द्रोपती रानाले बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उनले बजेटलाई समावेशी, पूर्वाधारमुखी र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइने गरी तयार गरिएको जानकारी दिइन्न ।
प्रस्तावित बजेटअनुसार आन्तरिक श्रोतबाट ८ करोड आम्दानी हुने अनुमान गरिएको छ। संघीय सरकारको वित्तीय समानीकरण शीर्षकअन्तर्गत १५ करोड ९९ लाख र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। संघीय राजस्व बाँडफाँडबाट १५ करोड ३० लाख ९३ हजार ४५१ र प्रदेश राजस्व बाँडफाँडबाट ४७ लाख २१ हजार रुपैयाँ आउनेछ।
सामाजिक सुरक्षाका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ। संघीय ससर्त अनुदानमार्फत २५ करोड १ लाख र प्रदेश ससर्त अनुदानबाट १ करोड ९६ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, संघीय समपूरक अनुदानबाट ८३ लाख र प्रदेशबाट २ करोड १० लाख तथा संघीय विशेष अनुदानबाट ४ करोड ५५ लाख र प्रदेश विशेष अनुदानबाट ४० लाख रुपैयाँ प्राप्त हुनेछ।
आम्दानी र खर्च बराबर राखिएको बजेटमा स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको उल्लेख छ। गत आर्थिक वर्ष २०८१/०८२ का लागि ९७ करोड ५ लाख ६० हजार रुपैयाँ को बजेट ल्याएको थियोे । अहिले तुलनामा झण्डै ५ करोड बढी ल्याएको छ ।