अत्तरिया, डडेलधुराकाे परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायक जोशी भित्री मधेशको समग्र विकासमा समर्पित एक युवा र ऊर्जाशील नेतृत्वका रूपमा उदाएका छन्। उनले निर्वाचनको समयमा जनतासँग गरेका वाचा पूरा गर्न दिनरात नभनी काम गरिरहेका छन्। राजनीतिक पृष्ठभूमिबाट नयाँ व्यक्तित्वका रूपमा उदाएका जोशीले आफ्नो कार्यकालमा लिएको अग्रगामी कदमले परशुरामबासीमा आशाको नयाँ किरण थपिदिएको छ।
नगरप्रमुख जोशीले जनताका ससाना चासोलाई समेत महत्वका साथ लिएका छन्। निर्वाचनको बेला उनले जनतासँग गरेका वाचाहरूलाई कार्यान्वयन गर्न चरणबद्ध रूपमा काम अगाडि बढाएका छन्। विद्यालय, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, विद्युत्, खानेपानी, प्रशासनिक सुधारजस्ता धेरै क्षेत्रमा जोशीले स्पष्ट नतिजा दिन थालेका छन्।
उनको नेतृत्वमा परशुराम नगरपालिकाभित्र रहेका विद्यालयहरूलाई समानुपातिक र समावेशी ढंगले विकास गर्ने काम भइरहेको छ। भुवनेश्वरी नमुना माध्यमिक विद्यालयजस्ता प्रमुख शैक्षिक संस्थामा सुधारका प्रयासहरू स्पष्ट देखिन्छन्। स्वास्थ्य सेवामा पनि उल्लेख्य सुधार आएको छ। जोगबुढा अस्पतालमा सुधारात्मक काम भएका छन् भने विभिन्न वडामा सहरी तथा स्थानीय स्वास्थ्य क्लिनिकहरू स्थापना गरेर सेवा सुलभ बनाइएको छ।
नगरप्रमुख जोशीको कार्यकालमा पूर्वाधार क्षेत्रले ठूलो फड्को मारेको छ। कतिपय सडकहरूमा ग्राभेल तथा कालोपत्रे सम्पन्न भएका छन्। विभिन्न खोलानालामा कल्भर्ट र पुलहरू निर्माण भएका छन्। २० फिटे नमुना सडक निर्माणले परशुराम नगरको आधुनिक स्वरूप निर्माणको बाटो खोलिदिएको छ।
विद्युत् आपूर्तिमा सुधार ल्याउन जोगबुडामै प्रसारण केन्द्रको निर्माण गरिएको छ। यससँगै मालपोत, इलाका प्रहरी कार्यालयजस्ता महत्त्वपूर्ण सरकारी कार्यालयहरू नगर क्षेत्रभित्र ल्याउन नगरप्रमुखको विशेष पहल देखिएको छ। वडा कार्यालयहरूका भवन निर्माण हुँदै सेवाप्रवाह जनमुखी बन्दै गएको छ।
भित्री मधेशलाई कृषि क्षेत्रको रूपमा चिनाउँदै जोशीले किसानहरूका खेतसम्म सिँचाइका कुला र नहर पुर्याउनुका साथै आधुनिक प्रविधिका कृषि सामग्रीहरू वितरण गरेका छन्। बाढी र नदी कटानको जोखिमबाट ग्रस्त क्षेत्रहरूमा तटबन्ध निर्माण गरेर जनताको सुरक्षामा ठूलो टेवा पुर्याएका छन्।
नगरप्रमुख जोशीले परशुराम क्षेत्रलाई धार्मिक र पर्यटकीय हपको रूपमा विकास गर्ने योजना अघि सारेका छन्। प्रशामधाम, इको पार्क, बेबी पार्क, कृत्रिम ताल र स्विमिङ क्षेत्र निर्माणजस्ता कार्यहरू थालनी भइसकेका छन्। पर्यटकलाई आकर्षित गर्न र्याफ्टिङको समेत व्यवस्था गर्ने योजना जोशीले अघि सारेका छन्। धार्मिक धर्मशालाहरूको निर्माणले समेत धार्मिक पर्यटनलाई टेवा दिने अपेक्षा गरिएको छ।
वृद्धभत्ता घरदैलोमै वितरण गरेर नमुना प्रस्तुत गरेका जोशीले नागरिकहरूप्रति जिम्मेवार दृष्टिकोण देखाएका छन्। प्रशासनिक सुधारतर्फ शाखा प्रमुखहरूसँग समन्वयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम पनि उनको कार्यशैलीमा देखिन्छ।
परशुराम नगरका समाजसेवी ललितराज जोशीका अनुसार, नगरप्रमुख भरत बडायक जोशी एक डाइनेमिक लिडरका रूपमा उदाएका छन्। “उहाँले परशुरामको समग्र विकासलाई नयाँ उचाइमा पु-याउनुहुन्छ भन्ने विश्वास सबैमा छ,” जोशीले भने। उनले नगरप्रमुखको सोच, कार्यशैली र समर्पणले पौराणिक परशुराम क्षेत्रलाई समृद्धिको यात्रामा अगाडि बढाएको दाबी गरेका छन् ।
परशुराम नगरपालिकाको नेतृत्वमा रहेका भरत बडायक जोशी एक कर्मठ, इमानदार र जोशिला जनप्रतिनिधिका रूपमा स्थापित भइरहेका छन्। उनका योजनाहरूले न केवल स्थानीय जनताको जीवनस्तर सुधार गर्ने संकेत गर्छन्, तर समग्र सुदूरपश्चिम प्रदेशकै विकास यात्रालाई गति दिनेछन्। जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै नगरप्रमुख जोशी दिनरात भित्री मधेशको समग्र विकासमा दौडिरहेका छन्।
उनी नेतृत्व गरिरहेका परशुरामको समृद्धिको सपना पुरा गर्न सबै क्षेत्र, समुदाय र राजनीतिक धारका व्यक्तिहरूले हातेमालो गरेर साथ दिनुपर्ने आवश्यकता देखिन्छ। किनकि परशुरामको विकास नै सुदूरपश्चिमको उज्यालो भविष्यको आधार बन्न सक्छ।