अत्तरिया, सुदूरपश्चिम प्रदेश सरकारको चरम लापरवाहीका कारण गोदावरी नगरपालिकामा रहेका मानसिक र नसर्ने रोगीहरू औषधिको अभावमा ठूलो समस्यामा परेका छन्। प्रदेशको स्वास्थ्य इकाइबाट औषधि नियमित आपूर्ति नहुँदा नगरपालिकाले हरेक वर्ष आफैँ करिब ८–१० लाख रुपैयाँ खर्चेर औषधि खरिद गर्न बाध्य भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जनाएका छन्।
हाल गोदावरीमा मानसिक रोगीको संख्या करिब २०० र नसर्ने रोगी करिब १० हजार रहेको अनुमान गरिएको छ। यी बिरामीहरूलाई १५ वटै स्थानीय स्वास्थ्य संस्थाबाट सेवा दिइँदै आएको भए पनि औषधिको अभावले सेवा कमजोर बन्दै गएको जनस्वास्थ्यकर्मीहरूको गुनासो छ।
प्रदेश सरकारले नीतिगत प्रतिवद्धता त जनाउँदै आएको छ, तर कार्यान्वयनको अभावले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा नै संकटमा परेको अवस्था देखिएको छ।
नगरबासीहरू, स्वास्थ्यकर्मी र सरोकारवाला पक्षले यस्तो लापरवाहीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। “अन्य शीर्षकमा अनावश्यक खर्च भइरहेको देखिन्छ, तर अत्यावश्यक औषधिमा सरकारले ध्यान नदिँदा पालिकामाथि अतिरिक्त बोझ परेको छ,” स्वास्थ्यकर्मीहरूको भनाइ छ।
अब प्रश्न उठेको छ — के प्रदेश सरकारले समयमै चेत लिन्छ? कि पालिकाले नै सँधै स्वास्थ्य सेवाको भारी बोकिरहनुपर्ने हो?