अत्तरिया, नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गोदावरी नगरपालिकाका अग्रज नेता, निर्वाचित जनप्रतिनिधि र पार्टी पदाधिकारीहरूसँग विशेष साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
उहाँले गोदावरी नगरपालिकाका निर्वाचित एमालेका वडा अध्यक्ष, सदस्य तथा स्थानीय नेताहरूसँग भेटघाट गर्दै हाल जनतासँगको सम्बन्ध, जनगुनासा, जनसेवा, र पार्टीको आगामी अभियानबारे विस्तृत छलफल गरेका हुन्।
भेटघाटका क्रममा नेता भट्टले पार्टीको मूलमन्त्र “जनताको सेवामा समर्पित नेतृत्व” लाई स्मरण गराउँदै, “नेतृत्वमा रहने व्यक्ति निर्मम, न्यायप्रिय र जनताको पीडा बुझ्न सक्ने खालको हुनुपर्छ,” भन्ने धारणा राखे। उहाँले जनप्रतिनिधिहरूलाई आफ्नो भूमिकालाई पवित्र मान्दै जनअपेक्षा अनुसार सेवा दिन आग्रहसमेत गरेका थिए।
कार्यक्रममा उनले पार्टीको नेतृत्व गर्ने व्यक्ति जनताप्रति निर्मम निष्ठा, न्यायिक सोच र सेवा भावनाले भरिएको हुनुपर्ने धारणा राखे। “राजनीतिक नेतृत्व केवल पदको लोभ होइन, जनताको भावना, पीडा र अधिकारको सम्मान हो,” भट्टले भने, “नेतृत्व न्यायिक र पवित्र हुनुपर्छ, जनतासँग प्रत्यक्ष उत्तरदायित्व महसुस गर्दै सेवा – भावले काम गर्नुपर्छ, उनले भने।”
हाल चर्चामा रहेको भूमि आयोग तथा सुकुम्बासी व्यवस्थापनको विषयमा पनि नेता भट्टले विशेष चासो राखे। उनले अव्यवस्थित बसोबासमा रहेका समुदायहरूको अवस्थाबारे बुझ्दै स्थानीय जनप्रतिनिधिलाई यस विषयमा पारदर्शिता, योजनाबद्धता र संवेदनशीलतापूर्वक कार्य गर्न निर्देशन दिए। “जनताको जमीन, छानो र सम्मानजनक जीवन पाउने अधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख कर्तव्य हो,” उनले भने।
नेता भट्टले जनप्रतिनिधिहरूलाई जनताको गुनासो, आवश्यकता र समस्या बुझ्न समय दिन आग्रह गरे। “जनताको नाडी छाम्न सक्ने नेतृत्व नै सफल हुन्छ,” भन्दै उनले प्रत्येक जनप्रतिनिधिलाई जनसेवामा पूर्ण समर्पित रहन आह्वान गरे। उनले स्पष्ट पारे, “हिजो मत माग्दा जनतालाई दिएका प्रतिबद्धताहरू अब कार्यान्वयनको चरणमा लैजानु पर्ने समय हो।”
भट्टले पार्टीको मूल उद्देश्य जनताको समस्या समाधान, अधिकारको रक्षा र सामाजिक न्यायमा आधारित नेतृत्व निर्माण भएको स्मरण गराउँदै, सबै तहका कमिटीहरूलाई उक्त लक्ष्यप्रति गम्भीर भएर लाग्न आग्रह गरे।
“एमाले केवल सत्ता लिने पार्टी होइन, यो जनताको अधिकार र आवाजको पार्टी हो,” भट्टले भने, “पार्टीका सबै तह स्थानीय, जिल्ला र प्रदेशले समन्वयमा रहँदै संगठनलाई बलियो बनाउन जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”
भट्टले जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीहरूमाथि विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै भने, “यदि सबै कमिटीहरू जिम्मेवार, उत्तरदायी र क्रियाशील भए, भने पार्टीको मिसन मूर्तरूपमा अगाडि बढ्छ। जनताको अभिभावक बन्ने हाम्रो लक्ष्य वास्तविकतामा बदलिन्छ।”
कार्यक्रममा उनले सबै जनप्रतिनिधि, कार्यकर्ता र पदाधिकारीलाई पार्टीका नीति, योजना र निर्देशनप्रति इमानदारीपूर्वक समर्पित हुन आह्वान गरे। “तपाईंहरूको व्यक्तिगत योगदान नै पार्टीको सामूहिक शक्ति हो,” भन्दै उनले थपे, “जनताको विश्वासलाई सम्मान गर्दै, हामी सबैले आ – आफ्नो स्थानबाट उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुपर्छ।” गोदावरी नगर क्षेत्रभित्र एमालेको सांगठनिक सक्रियता, जनसम्पर्क सुदृढीकरण र नीति कार्यान्वयनमा नयाँ सन्देश दिएको सहभागीहरूको भनाइ छ।