गोदावरी – ११ को नवौं वडा भेलाबाट नयाँ बजेटकाे योजना र समृद्धिको खाका सार्वजनिक गर्‍यो

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ को नवौं वडा भेला वडाध्यक्ष प्रेम बहादुर बडैलाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख विरेन्द्र भट्ट तथा विशिष्ट अतिथिमा उपप्रमुख शारदा देवी रोकाया सहभागी रहेका थिए ।

वडाध्यक्ष बडैलाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजना तथा कार्यक्रमहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरे। प्रस्तुत गोदावरी नगरपालिका बजेट सिलिङ्ग अनुसार  वडा नं. ११ को लागि ८६ लाख ८६ हजार बजेट विनियोजन गरिएको छ। वडाले हालसम्म ६ लाख ६३ हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ ।

यसपटकको कार्यक्रममा “जेष्ठ नागरिक सम्मान” लाई नमुना कार्यक्रमको रूपमा अघि सारिएको छ। प्रस्तुत बजेटमा भौतिक पूर्वाधार विकासमा ५४ लाख, सामाजिक विकासमा १५ लाख १५ हजार, आर्थिक विकासमा १० लाख, विपद् व्यवस्थापन तथा मागमा आधारित कार्यक्रममा १ लाख ६० हजार र सुशासन तथा संस्थागत विकासमा ५ लाख ७६ हजार विनियोजन गरिएको छ।

वडाले आगामी वर्षका लागि सिचाई, उद्योग, पर्यटन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य, पोषण, शिक्षा, प्रविधि, युवा तथा खेलकुद, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, सडक तथा यातायात, शहरी विकास, सञ्चार, वैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनिकरण, मानव सुशासन विकास लगायतका क्षेत्रमा प्राथमिकता दिने नीति लिएको छ।

वडा भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक संस्थाहरू तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाले समग्र वडाको आगामी दिशा र प्राथमिकताहरू स्पष्ट पार्दै समावेशी विकासको प्रतिबद्धता व्यक्त समेत गरेको छ।

 

ताजा समाचार