सुदूरपश्चिमको विकासमा लेखराज भट्टको मौन तर प्रभावकारी हुटहुटी

अत्तरिया, गेटा मेडिकल कलेज – सुदूरपश्चिमको स्वास्थ्य पूर्वाधार निर्माणमा एक ऐतिहासिक माइलखुट्टो। आज यो नाम परिवर्तन भई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनेको छ, जसको अवलोकनमै फागुन १ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम पुगे। तर, यस सम्पूर्ण संरचनाको प्रारम्भिक परिकल्पना र थालनीका सूत्रधार पूर्व मन्त्री लेखराज भट्ट निरीक्षण कार्यक्रममा देखिएनन्। यो अनुपस्थिति भले भौतिक होस्, तर भट्टको योगदान सुदूरपश्चिमको माटोमा गहिरोसँग रोपिएको छ।

२०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएपछि भट्टले सुदूरपश्चिमको बिग्रँदो स्वास्थ्य अवस्थालाई केन्द्रमा राख्दै मेडिकल कलेज निर्माणको सपना देखेका थिए। त्यो समय प्रधानमन्त्री प्रचण्ड नै थिए, र भट्ट श्रम मन्त्रीको भूमिकामा थिए। सुदूरपश्चिममा एउटा पनि स्तरीय स्वास्थ्य संस्था नभएको बेला भट्टले गेटाको घना जंगललाई मेडिकल हब बनाउने परिकल्पना गरेका थिए – एक यस्तो परिकल्पना जुन धेरैको लागि ‘अवास्तविक’ लाग्थ्यो। तर आज, त्यो परिकल्पनाले लगभग पूर्णता पाइरहेको छ।

२०७४ सालदेखि तीव्र गतिमा अघि बढेको मेडिकल कलेजको निर्माणमा हालसम्म ९० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको छ। करिब पाँच अर्ब रुपैयाँ बराबरको लगानीमा बनेका संरचनाहरू – अस्पताल, कलेज भवन, छात्रावास, आवास – सबै तयारी अवस्थामा छन्। तर, जुन हातले यो योजनाको बीजारोपण गर्‍यो, त्यो हातलाई आजको चर्चामा कम स्थान मिलिरहेको छ।

यो भट्टको विशेषता हो – चर्चा होइन, परिणाममा विश्वास। उनले प्रधानमन्त्री वा मन्त्रीहरूको उपस्थितिमा होइन, परियोजनाको स्थायीत्वमा ध्यान दिए। भट्टले परिकल्पना गरेका सुख्खा बन्दरगाह, महाकाली पुल, कोरिडोर, दैजी-छेला औद्योगिक क्षेत्र, अत्तरियादेखि धनगढीसम्मको औद्योगिक कोरिडोर आजको सुदूरपश्चिमका महत्वाकांक्षी योजनाहरू बनेका छन्। तीमध्ये केही सुरु भइसके, केही सुरु हुने तयारीमा छन्।

सुदूरपश्चिमको विकासका एजेन्डालाई निरन्तरता दिने मन्त्रहरू जति बोले पनि, भट्टले देखाएको ‘सधैं नबोलिने तर काम गरिरहने’ कार्यशैली दुर्लभ छ। यहाँ सवाल नेतृत्वको मात्र होइन, दूरदृष्टिको हो – त्यो दूरदृष्टि जसले विकटतालाई सम्भावनामा रूपान्तरण गर्छ।

भट्टले शुरू गरेका योजनाहरू अहिलेका मन्त्रीहरूका प्राथमिकतामा परिरहेका छन्। तर उनी स्वयं भने सधैंको झैं पृष्ठभूमिमा छन्न् ।  शान्त, निःस्वार्थ र आफ्नो क्षेत्रप्रतिको निष्ठामा अडिग। सुदूरपश्चिमले यस्तो नेतृत्वलाई केवल भोटमार्फत हैन, ऐतिहासिक योगदानको सम्मानमार्फत पनि मूल्याङ्कन गर्न जरुरी छ।

आज गेटाको मेडिकल कलेज जति भव्य देखिन्छ, त्यो भन्दा गहिरो कुरा यसको जगमा लुकेको एउटा नेताको हुटहुटी हो – लेखराज भट्टको। सुदूरपश्चिमको समृद्धिको कथा लेखिँदै गर्दा त्यसमा भट्टको नाम नलेखिनु इतिहाससँग अन्याय हुनेछ। तमाम योद्धा र तमाम क्षेत्रको काममा लेखराज भट्टको अग्रपन्तीको इतिहास कहिले मेटिने छैन। यी यस्ता खालका तमाम योजनाहरू दूरदर्शी र जनताहरुले पछिल्लो समय र पछिका पुस्ताहरुले महसुस गर्ने खालका योजनाले लेखराज भट्टको दुरदृष्टि माथि पछिका युवाहरूले पनि महसुस गर्ने खालका रहेका छन्।

 

ताजा समाचार