अत्तरिया, कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा बुधवार बिहान फेला परेको पुरुषको शवको सनाखत जोगबहादुर कैनीको भएको छ। अमरगढी नगरपालिका-७, पोखरा डडेल्धुराका करिब ३५ वर्षीय कैनीको हत्या गरिएको आशंकामा प्रहरी अनुसन्धान भइरहेको छ।
शव अर्धनग्न अवस्थामा भेटिएको थियो भने शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ। घटनास्थलको प्रकृति र शवको अवस्था हेर्दा यो विवत्स हत्या भएको प्रहरीको अनुमान छ।
प्राप्त जानकारीअनुसार, मृतक जोगबहादुर कैनी पहिले उग्रतारा यातायातमा सह चालकदेखि चालकका रूपमा कार्यरत थिए। पछिल्ला केही वर्षदेखि गोदावरी नगरपालिका-३ मा अवस्थित दिदीको घरमा बस्दै आएका उनी केही समय अत्तरिया बजारका विभिन्न होटलमा काम गर्दै आएका थिए। पछिल्लो समय उनी रक्सी सेवन गरी बसपार्क क्षेत्रलगायत विभिन्न स्थानमा माग्ने र सडकमा हिँडडुल गर्ने गरेका थिए।
मृतकका बाबुआमा बितिसकेका छन् भने उनका दाजु रहेको मृतकका सौँदर भतिज वीरबहादुर कैनीले जानकारी दिएका छन्।
शव अत्तरियाकै प्रहरी कार्यालय नजिकै रहेको दुर्गा मन्दिरको पश्चिम पट्टिको पेटीमा फेला परेको थियो। मन्दिर परिसरमा अस्थायी रूपमा बस्दै आएका जोगबहादुरको हत्यामा संलग्न व्यक्तिहरूको पहिचान भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाले अत्तरियाबासीमा त्रास फैलिएको छ भने दोषी पहिचान गरी कानुनी कारबाहीको मागसमेत बढिरहेको छ।