एमाले नेता रानाको चेतावनी : “धेरै निहुँ खोजे देश नै छोड्न पर्ला”

अत्तरिया, नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनि रानाले पुर्व राजा ज्ञानेन्द्र शाहप्रति तीखो प्रहार गरेका छन्। धनगढीमा शुक्रबार एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले पुर्व राजाविरुद्ध कडा चेतावनी दिएका हुन्।

रानाले भने, “अहिले त निर्मल निवासबाट नागार्जुन पठाएका छौँ, धेरै निहुँ खोजे देश नै छोड्न पर्ला।” उनको यो भनाइ पछिल्लो समय राजसंस्थाको पुनर्स्थापनाको पक्षमा बढ्दो गतिविधिहरूतर्फ लक्षित देखिन्छ।

एमाले नेता रानाले राजसंस्थाका समर्थकहरुले राजनीति अस्थिर पार्न खोजेको आरोप पनि लगाए। “राजाबादीहरूले धेरै यताउता गर्न खोजे ठेगाना लगाईदिन्छौं,” उनले स्पष्ट चेतावनी दिए।

सभामा बोल्दै रानाले जातीय आधारमा पार्टी बनाउने प्रवृत्तिको पनि विरोध गरे। “जातियताले पार्टी बन्न सक्दैन, सबैभन्दा माथि देश हो। पहिला हामी नेपाली हौं,” उनले भने। रानाले विचारले पार्टी बन्ने भन्दै जातीय विभाजनले मुलुकलाई कमजोर पार्ने उल्लेख गरे।

“कहिलेकाहीं थारुहरुलाई भड्काउने प्रयास गरिन्छ, त्यसमा थारु समुदाय सजक बन्नुपर्छ,” रानाले भने। उनले सामाजिक सद्भाव र एकता कायम राख्न सबैलाई आग्रह गर्दै जातीय विभाजनबाट टाढा रहनुपर्नेमा जोड दिए।

एमालेको सभामा रानासहित अन्य नेताहरूले पनि वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका थिए। एमालेले देशमा भइरहेको अराजक तत्वका विरुद्ध लक्षित गर्दै देशभर विषेश  जनसभाहरूको आयोजना गरिरहेको छ।

 

ताजा समाचार