सुदूरपश्चिम आमूल परिवर्तनको भूमि हो : सचिव भट्ट

अत्तरिया, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिमलाई आमूल परिवर्तनको भूमि भएको स्पष्ट पारेका छन्। उनले इतिहास युगपुरुष भीमदत्त पन्तलाई स्मरण गर्दै जनक्रान्तिको तीव्र उदाहरण प्रस्तुत गर्दै वर्तमान अवस्थामा पनि लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि एकतामा उभिनुपर्ने आवश्यकता औंल्याए।

भट्टले भीमदत्त पन्तले बडेहाँ क्षेत्रमा ७२ घण्टा युद्ध लडेका ऐतिहासिक घटनालाई स्मरण गर्दै भने, “सुदूरपश्चिम त्यस्तो ठाउँ हो जहाँ आमूल परिवर्तनका लागि युद्ध गरिएको थियो, जनआन्दोलन गरिएको थियो। हामीले गणतन्त्र ल्याउन १० वर्षसम्मको संघर्ष गरेका छौँ र म पनि त्यसमा सहभागी थिएँ।”

उनले गणतन्त्र प्राप्तिका लागि सुदूरपश्चिमका हजारौँ नेताकर्मचारी, युवाहरूले बलिदान दिएको उल्लेख गर्दै भने, “१७ हजार जनाको बलिदान त्यत्तिकै थिएन। त्यो गणतन्त्रका लागि थियो। यदि आज कोही गणतन्त्रको विरुद्ध उभिन्छ भने हिजोका ती पेले साथीहरू सहिद परिवार, अपाङ्ग साथी फेरि एकचोटि एक ठाउँमा आउनु पर्ने बेला आएको समेत बताए ।”

भट्टले हाल नेकपा एमालेमाथि भइरहेका आरोप र प्रहारहरूलाई अस्थिरता चाहने तत्वहरूको योजनाको हिस्सा भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताएका थिए। उनले देशमा अस्थिरता कायम गरेर विकास रोक्न खोज्ने, नेपाल आत्मनिर्भर नहोस् भन्ने चाहने शक्तिहरूबाट यस्ता गतिविधिहरू भइरहेका दाबी समेत गरेका थिए।

“हामी सुदूरपश्चिममा रहेका सबै भेषभूषा, जातजातिका व्यक्तित्वहरू एक ठाउँमा उभिएर गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनु पर्छ,” उनले भने। साथै, उनले राजतन्त्र पुनः फर्काउने प्रयासलाई ‘चिहानबाट फर्कन खोज्ने लास’कस्तो लास भन्दै त्यसप्रति कुनै विश्वास नरहेको प्रस्ट पारे।

भट्टले हिजोको युद्ध, आन्दोलन र बलिदानको मूल्य गुम्न नदिनु पर्ने बताए। उनले भने, “हिजोका विघटनकारीहरू फेरि एकपटक गणतन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेका छन्। यस्ता व्यक्तिहरूका विरुद्ध अब फेरि आवाज उठाउने बेला आएको छ।”

कार्यक्रममा उनले पार्टीको विचार, योजना र कार्यक्रमहरूलाई आत्मसात गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशमा विकासका कार्यक्रमहरूलाई गति दिँदै सुदूरपश्चिमले हरेक समयमा राष्ट्रको हितमा ठूलो योगदान दिएको दाबी गरे।

सुदूरपश्चिम क्षेत्रका नेताको रूपमा परिचित भट्टले विगतका संघर्ष, इतिहासका युग पुरुषहरू र सुदूरका विचारहरूले अहिले पनि सन्देश दिइरहेको बताए। उनले गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने कुरामा जाेड दिएका थिए।

 

ताजा समाचार