धनगढी, शुक्रबार धनगढीमा आयोजित एमालेको विशेष सभालाई सम्बोधन गर्दै थापाले दुर्गा प्रसाईंलाई एमालेले किन संरक्षण गरे भन्ने विषयमा अब पार्टीभित्रै गम्भीर बहस हुनुपर्ने धारणा राखे। उनले भने, “एमालेका नेता कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्छ-दुर्गा प्रसाईंहरुलाई किन केन्द्रीय सदस्य बनाइयो? किन उनीजस्ता व्यक्तिलाई एमालेले अवसर दियो?”
थापाले प्रसाईंलाई पार्टीमा स्थान दिँदा पार्टीको विचार र मूल्य मान्यताको अपमान भएको उल्लेख गर्दै भविष्यमा यस्तो गल्ती नदोहोरिनुपर्ने बताए। “जगमान गुरुङहरु मात्रै विद्वान हुन् र? विचारको धरातलमा आधारित नभई अवसरवादी सोच राख्नेहरूलाई स्थान दिने गल्ती सुधार्नुपर्छ,” उनले भने।
उनले वर्तमान राजनीतिक परिदृश्यमा राजावादी शक्तिहरू सक्रिय हुँदै गएको र देशलाई गलत दिशातर्फ लैजाने षड्यन्त्र भइरहेको भन्दै सचेत रहन आग्रह गरे। “राजावादीहरू देशलाई उल्टो बाटो तिर लैजान खोजिरहेका छन्,” थापाले भने, “एमालेले अहिले जनतालाई यथार्थ परिस्थिति बुझाउने जिम्मेवारी लिने समय हो।”
थापाले पार्टीको सैद्धान्तिक स्पष्टता र जनतासँगको प्रत्यक्ष सम्पर्क बलियो बनाएर मात्रै वर्तमान चुनौतीहरूसँग जुध्न सकिने विश्वास व्यक्त गरे। उनले संगठनभित्र आत्मसमीक्षा र सुधारको आवश्यकता पनि औंल्याए।