अत्तरिया, कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का भुवन महरा नेतृत्वको प्यानलले विजय हासिल गरेको छ।
क्याम्पस परिसरमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतगणना पछिको नतिजाअनुसार, सभापति पदमा भुवन महराले ४४१ मत लिएर विजयी हुँदै नेविसंघको निरन्तरताकाे विरासत कायम राख्न सफल भएका छन्।
मतदानका लागि विद्यार्थीहरू बिहानैदेखि उत्साहित देखिएका थिए। निर्वाचनमा विद्यार्थी संगठनका उम्मेदवारहरूले भाग लिएका थिए, तर अन्ततः महरा नेतृत्वको प्यानलले बहुमत प्राप्त गर्दै विजय सुनिश्चित गरेको हो।
विजयपछि बोल्दै महराले स्ववियुमा पारदर्शिता, उत्तरदायित्व र विद्यार्थीका हकअधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले विगतका अधुरा कामहरूलाई निरन्तरता दिँदै क्याम्पस सुधारको अभियान अघि बढाउने कुराहरूमा आफु प्रतिबद्ध गरेकाे समेत बताए । यस जितसँगै दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघको पकड अझ सुदृढ भएको मानिएको छ।