सरकारी तथा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर अझै बढाउनु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली,सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकारी तथा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर अझै बढाउन आवश्यक रहेको बताएका छन् ।

अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले विगतमा भन्दा पछिल्लो समय शिक्षाको गुणस्तर बढिरहेको भएपनि अझै पर्याप्त भने भई नसकेको बताए ।

सरकारी तथा सामुदायीक विद्यालयका शैक्षिक गुणस्तर बढाउन सक्दा निजी विद्यालयमा पढाउनु पर्ने बाध्यताको अन्त्य हुने भन्दै उनले सरोकारवाल सबैलाई यसतर्फ ध्यान दिन आग्रह गरे ।

‘पछिल्लो समय सरकारी तथा सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर बढिरहेको छ तर, पर्याप्त भने भइसकेको छैन’ प्रदेश प्रमुख मियाँले भने ‘शिक्षाको गुणस्तर बढाउन सक्दा कसैले पनि निजी विद्यालय रोज्दैनन् । ’

सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा अब्बल रहेको भन्दै सुदूरपश्चिम अब सुन्दर पश्चिम भइसकेको प्रदेश प्रमुखको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, गोदावरी नगरापालिका मेयर वीरेन्द्र भट्ट लगायतको शिक्षाको सुधार आजको आवश्यकता रहेको बताएका थिए । उनीहरुले प्राविधिक शिक्षा तर्फ जोड दिनु पर्ने बताए ।

स्वर्ण महोत्सव तीन दिनसम्म जारी रहने छ । बुधबार विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै विभिन्न झाँकी तथा विभिन्न समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।

 

ताजा समाचार