अत्तरिया, कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० औँ वर्षगाँठ (स्वर्ण जयन्ती) भव्य रूपमा मनाउन सुरु गरेको छ।
बुधबार आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख नजिर मियाँले स्वर्ण जयन्ती महोत्सवको औपचारिक उद्घाटन गरेका हुन्। उनले शिक्षा क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताए।
तीन दिनसम्म चल्ने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, म्याराथन दौड, प्यानल डिस्कसन, बौद्धिक कार्यक्रम लगायतका गतिविधिहरू समावेश गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ।
उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले आर्थिक, शैक्षिक तथा भौतिक संरचनाको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयको हालको अवस्था र भावी योजनाहरू समेत बताउनुभएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका राज्यमन्त्री प्रकाश बम, प्रदेश सांसद तुल्सी देवकोटा, विभिन्न स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्ण जयन्तीको अवसरमा विद्यालयका संस्थापक तथा प्रारम्भिक कालका योगदानकर्ताहरुलाई विशेष सम्मान गरिएको छ।
स्थानीयवासीहरूको सक्रिय पहलमा वि.सं. २०३० सालमा स्थापना भएको उक्त विद्यालयले हाल झन्डै तीन हजारभन्दा बढी विद्यार्थीहरूलाई शिक्षादान गरिरहेको छ।स्वर्ण जयन्ती महोत्सवले विद्यालयको गौरवपूर्ण इतिहासलाई उजागर गर्दै समुदायसँगको सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
पूर्व विद्यार्थी मञ्चले स्वर्ण महोत्सवको अवसरमा रक्तदानको कार्यक्रम राखेका थिए। उक्त रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए। यो अभियान २९ गतेसम्म सञ्चालन हुनेछ।