बर्दगोरिया, सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बर्दगोरिया गाउँपालिकाको कार्यालय, Habitat for Humanity Nepal र RDN नेपालको संयुक्त लगानीमा मुक्त कमैयाहरूका लागि घर निर्माण कार्यको शिलान्यास गरिएको छ।
बर्दगोरिया गाउँपालिका–३ स्थित मुक्त कमैया शिविर खैरेनीमा २१ वटा घर निर्माणको आज प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले मुक्त कमैयाहरूको पुनर्स्थापना र सामाजिक सम्मानका लागि प्रदेश सरकार पूर्ण रूपले प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले आवास अधिकारलाई मानव अधिकारको महत्वपूर्ण अङ्ग मानेर यस्ता योजनालाई अझ विस्तार गरिने जानकारी दिनुभयो।
मन्त्री थापाले आगामी आर्थिक बर्षमा मुक्त कमैया, मुक्त कमलरी र हलियाको व्यवस्थापनमा स्थानिय तहले डाटा संकलन गरे पठाए सरकार लागि पर्ने बताए । उनले भने आगामी आर्थिक बर्षमा कैलाली र कंचनपुरका मुक्त कमैया, मुक्त कमलरी र हलियाको व्यवस्थापन गरेर सबै नागरिकले पाउने नैसर्गिक अधिकार स्थापना गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालयको पुर्ण साथ रहने प्रतिबद्धता जनाए ।
मन्त्रालयले करिब ६१ लाख बराबरको बजेटबाट वडा नम्बर ३ का २१ घर, परिवारलाई सुरक्षित आवासका लागि बजेट वितरण गरिएको मन्त्री थापाले जनाए।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले बर्दगोरिया भित्रका भूमिहीन र विस्थापित समुदायलाई व्यवस्थित आवास सहितको जीवनशैलीमा रूपान्तरण गर्न पालिका कटिबद्ध रहेको बताउनुभयो । साथै पालिका अध्यक्ष कुँवरले बर्दगोरियामा निर्माण गरिन लागेका घरहरुमा साथ सहयोग गर्ने संघ संस्था र मन्त्रालयलाई धन्यवाद दिदै आगामी दिनमा बाकी रहेका मुक्त कमैयाहरुको शुरक्षित आवासमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । साथै अध्यक्ष कुँवरले साझेदारीमा बन्ने घर हरुमा पालिकाको पुर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
Habitat Nepal तथा RDN नेपालका प्रतिनिधिहरूले प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माण हुन लागेका घरहरू सुरक्षित, टिकाउ र वातावरणमैत्री हुने जनाइएको छ।
राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक चक्र आग्रीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन ओड, सुदुरपश्चिम प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका नापी अधिकृत धर्मेन्द्र ओझा, बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य लगाएतकाले मुक्त कमैयाका घर निर्माणमा सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य, सरोकारवाला निकाय र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।