नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशन सुरु

अत्तरिया, नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं कैलाली जिल्ला अधिवेशन साेेमबारदेखि सुरु भएको छ। कैलालीको अत्तरियामा सुरु भएको अधिवेशन जिल्ला अध्यक्ष चक्रबहादुर बिष्टको अध्यक्षतामा उद्घाटन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट रहनुभएको थियो।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा संगठनको वार्षिक गतिविधि, शिक्षक सरोकारका विषयहरू, नीतिगत छलफल र आगामी कार्यदिशाबारे बहस हुने छ। साथै, अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, जसले आगामी वर्षको संगठनको बागडोर सम्हाल्नेछ।

उद्घाटन समारोहमा बोल्दै सचिव भट्टले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै, “तपाईंहरू समाजको सक्षम र अग्रणी व्यक्तित्व हुनुहुन्छ,” भन्नुभयो। उहाँले समाज र देशको परिवर्तनमा शिक्षकहरूको भूमिका निर्णायक रहेको धारणा व्यक्त गर्नुभयो।

भट्टले हालको राजनीतिक परिप्रेक्ष्यमा गणतन्त्र नै देशको आवश्यकता भएको बताउँदै राजतन्त्रको विकल्प गणतन्त्र नै भएको प्रस्ट पार्नुभयो। उहाँले शिक्षकहरूलाई समाज निर्माणमा अझ सक्रिय भएर लाग्न आग्रह गर्दै हाल सडकमा देखा परेका राजावादी आन्दोलनहरूबारे सचेत का विरुद्ध आवाज उठाउनुपर्ने बेला आएको समेत बताउनुभयो।

देशमा भइरहेको आन्दोलन र बहसप्रति संकेत गर्दै उहाँले “ढुंगा-मुढा गरेर होइन, बहस र छलफलमार्फत मात्रै परिवर्तन सम्भव छ,” भन्नुभयो। नेकपा एमाले देशको रक्षाका निम्ति अग्रसर पार्टी भएको बताउँदै उहाँले शिक्षक समुदायलाई सही र योग्य नेतृत्व चयनमा सक्रिय भूमिका खेल्न अपिल गर्नुभयो।

उहाँले भावी नेतृत्व चयन गर्दा व्यक्तिगत पूर्वाग्रह भन्दा योग्य र इमान्दार नेतृत्वलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिनुभयो। साथै, सर्वसम्मति हुन नसकेको खण्डमा लोकतान्त्रिक प्रक्रिया अपनाएर नेतृत्व चयन गर्न सकिने स्पष्ट पार्नुभयो।

अन्त्यमा, उहाँले यही चैत्र २९ गते धनगढीमा आयोजना हुने नेकपा एमालेको वृहत् आमसभामा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने जानकारी दिँदै उपस्थित शिक्षकहरूलाई उक्त कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत गर्नुभएको थियो।

 

ताजा समाचार