अत्तरिया,कैलालीकाे गोदावरी नगरपालिका वडा नम्बर २, महेन्द्रनगर रोडस्थित अत्तरियामा सञ्चालनमा रहेको टिकटक सौलुन एण्ड सेभिङ्गले आफ्नो सेवामा निरन्तरता दिँदै आकर्षक सेवा मार्फत सुदूरपश्चिम र अत्तरियाका युवाहरूका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। राजकुमार सिकेले सञ्चालनमा ल्याएको यस सौलुनले थोरै लगानीबाट सुरु भए पनि उत्कृष्ट सेवा र छुट्टै पहिचान बनाउँदै आम्दानीको भरपर्दो स्रोतको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।
स्थानीयस्तरमै केही नयाँ र फरक गर्न सकिन्छ भन्ने सोचका साथ सुरु गरिएको यो सौलुन अहिले अत्तरिया क्षेत्रमा सेवाको गुणस्तर, सफाइ, र ग्राहक सन्तुष्टिका कारण चर्चित बन्दै गएको छ। राजकुमारले भने, “स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उद्देश्यले यो सौलुन सुरु गरेको हुँ, अहिले सोचेजस्तै आम्दानी भइरहेको छ र सेवा लिन आउने ग्राहकहरूको सन्तुष्टि नै मेरो सफलता हो,उनले भने।”
सुदूरपश्चिममा विशेषगरी भारतबाट आएका नागरिकहरूले कटिङ सेन्टर तथा सौलुन व्यवसाय सञ्चालन गरिरहेको पाइन्छ। विभिन्न अध्ययन अनुसार ९० प्रतिशतजति सौलुन व्यवसाय विदेशी नागरिकहरूले सञ्चालन गर्दै आएका छन्। यस्ता अवस्थामा नेपाली युवाले आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्नु महत्त्वपूर्ण कार्य हो। राजकुमार सिकेको टिकटक सौलुन यस्तो उदाहरणीय प्रयास हो, जसले नेपाली युवाहरूलाई समेत आत्मनिर्भर बन्न प्रेरित गर्न स्रोतका रूपमा समेत लिन सकिन्छ।
सुदूरपश्चिममा थोरै मात्रामा नेपालीले सौलुन व्यवसायमा हात हाल्दै आएका छन्। तथापि राजकुमारले उदाहरणीय कार्य गर्दै नेपाली युवा पनि सौलुन तथा सेभिङ्ग सेवा सञ्चालनमा सफल हुन सक्छन् भन्ने सन्देश दिएका छन्। यसले अब आउने पुस्तालाई स्वरोजगारतर्फ मोड्न सघाउ पुर्याउने विश्वास समेत उनकाे सौलुन दिएको छ।
राजकुमारले स्थानीय सरकार तथा सरोकारवालाहरूबाट सल्लाह र सुझाव पाइरहेको जनाउँदै, यस्ता सिपमूलक व्यवसायलाई प्रोत्साहन दिन स्थानीय सरकारले तालिम, सहुलियत ऋण र प्रोत्साहन कार्यक्रम ल्याउनु अहिलेको समयका लागि आवश्यक रहेको बताए।
सामाजिक सञ्जालमार्फत सौलुनको प्रचार–प्रसार गर्दै ‘टिकटक सौलुन’ नाम दिइएको यस व्यवसायले आज सुदूरपश्चिम,अत्तरिया कैलालीका युवाहरूका लागि केवल रोजगारी मात्र होइन, सम्भावनाको नयाँ ढोका खोलिदिएको छ।