कैलाली क्याम्पस स्ववियु चुनाव : अम्बिका चौधरीको संघर्ष,धम्कीका बीच पनि उम्मेदवारी अडिग

धनगढी, कैलाली बहुमुखी क्याम्पसमा यही चैत २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र विद्यार्थी एकता समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी अम्बिका चौधरीले गम्भीर आरोप सार्वजनिक गरेकी छिन्।

चौधरीले आफू र आफ्ना समूहका केही उम्मेदवारहरूलाई अराजक तत्वहरूले ज्यान मार्ने धम्की दिँदै उम्मेदवारी फिर्ता गराएको दाबी गरेकी छिन्। उनले अपहरणको योजना रहेको र डर, त्रास तथा लोभ देखाएर आफूहरूलाई निर्वाचनबाट अलग गराउने प्रयास भएको बताएकी छन्।

फेसबुकमार्फत सार्वजनिक गरिएको अपिलमा उनले लेखेकी छिन्, “म अत्यन्त दुःखी छु तर डराएको छैन, हिम्मत हारेकी छैन। मलाई पटक–पटक धम्की, लोभ र प्रलोभन दिइयो तर म अडिग रहेँ।”

चौधरीले क्याम्पसका सबै विद्यार्थीहरूलाई आह्वान गर्दै भनेकी छिन्, “कसैले पनि लोभ, डर वा धम्कीका कारण आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ। मलाई विश्वास छ, विद्यार्थीहरूले अन्यायविरुद्धको मत हाल्नेछन्।”

उनले आफूलाई महिलाका रूपमा तथा चौधरी समुदायको प्रतिनिधिका रूपमा उम्मेदवारी दिन अवरोध सिर्जना गरिएको आरोप पनि लगाएकी छिन्। “मलाई टिकटबाट वञ्चित गरियो, तर म टुटिनँ। म विद्यार्थीहरूको आशा र भरोसाका लागि उम्मेदवार बनेकी हुँ,” उनले भनिन्।

यसअघि नेविसंघबाटै स्ववियुमा निर्वाचित भएकी चौधरी यस पटक भने संस्थाभित्रको असन्तोषपछि स्वतन्त्र विद्यार्थी एकता समूहबाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। नेविसंघले यसपटक अध्यक्ष पदमा सन्तोष पन्तलाई उम्मेदवार बनाएको छ।

चौधरीले केही व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिएको बहानामा आफूलाई बदनाम गर्न खोजेको र चरित्र हत्या गर्न प्रयत्न गरिएको दाबीसमेत गरेकी छिन्।

अपनी अपिलको अन्त्यमा उनले उम्मेदवारी फिर्ता लिएका आफ्ना साथीहरूप्रति आभार प्रकट गर्दै अझै पनि उनीहरूको साथ र समर्थनको अपेक्षा राखेकी छिन्।

कैलाली बहुमुखी क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचनका लागि मतदान हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीति थप तातेको देखिन्छ।

 

ताजा समाचार