स्वस्तिक अस्पताल नयाँ व्यवस्थापनसहित सञ्चालनमा,सुदूरपश्चिममै पहिलो पूर्णकालीन आईभीएफ सेवा सुरु

धनगढी, २४ चैत-धनगढीस्थित स्वस्तिक अस्पताल नयाँ व्यवस्थापनसहित एक सय शय्यामा विस्तार गर्दै पुनः सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३, सहिदगेटमा रहेको अस्पताल आइतवार आयोजित पत्रकार सम्मेलनमार्फत् नयाँ व्यवस्थापन अन्तर्गत विस्तार गरिएको जानकारी गराइएको हो।

स्वस्तिक अस्पतालले सुरुवातमा १५ शय्याबाट सेवा प्रारम्भ गरे पनि हाल एक सय शय्यासहित अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक टोली तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दाबी गरेको छ। अस्पतालले सेवा उपभोगकर्तालाई सहज, सुरक्षित तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय पूर्वाधार, आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरुको समावेशी व्यवस्था गरेको जनाएको छ।

अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीका अनुसार, स्वस्तिक अस्पताल सुदूरपश्चिम प्रदेशमै अत्याधुनिक र प्रविधिमैत्री स्वास्थ्य संस्था बन्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। अस्पतालमा २४ घण्टे आकस्मिक सेवा, महिला तथा प्रसूति, हाडजोर्नी, छाला, मुटु, नाक–कान–घाँटी, रेडियोलोजी, डेन्टल, फिजियोथेरापी, प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, सर्जरी, युरो सर्जरी, न्युरो सर्जरीलगायत विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।

त्यसका साथै अस्पतालमा उच्च प्रविधियुक्त शल्यक्रिया कक्ष (मोडुलर ओटी), आईसीयू, एनआईसीयू, प्रसूति कक्ष, फार्मेसी, वातानुकूलित वार्ड तथा स्तरीय एम्बुलेन्सको व्यवस्था गरिएको छ। तातो–चिसो मौसमअनुसार अस्पतालको भौतिक संरचना पनि अनुकूल बनाइएको छ।

स्वस्तिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक पूर्णकालीन आइभीएफ सेवा उपलब्ध गराएको जनाएको छ। यसअघि शिविरमार्फत सीमित रूपमा प्रदान गर्दै आएको यो सेवा अब नियमित रूपमा अस्पतालमै सञ्चालन गरिनेछ। निःसन्तान दम्पतीका लागि यो सुविधा निकै उपयोगी हुने विश्वास अस्पताल व्यवस्थापनको छ।

अस्पतालले स्वास्थ्य सेवा मात्र नभई शैक्षिक क्रियाकलापतर्फ पनि अग्रसरता देखाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) तथा विश्वविद्यालयहरूसँगको सहकार्यमा नर्सिङ तथा अन्य मेडिकल कोर्स सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

निकट भविष्यमै अस्पतालले आमा सुरक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य बीमा, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूका लागि विशेष योजना ल्याउने योजना बनाएको छ। साथै, ग्रामीण क्षेत्रमा विज्ञ चिकित्सकसहितको टोलीबाट सञ्चालन हुँदै आएका निःशुल्क स्वास्थ्य शिविरलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ।

स्वस्तिक अस्पतालले बिरामीको सम्पूर्ण उपचार प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने लक्ष्यसहित रोग पहिचान, उपचार, औषधि वितरण र नियमित परीक्षणको एकीकृत सेवा प्रणाली लागु गर्ने जनाएको छ।

स्वस्तिक अस्पतालको नयाँ प्रयासले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जागृत गराएको छ।

 

ताजा समाचार