अत्तरिया,नेपालको संविधान जारी भइसकेपछि पहिलोपटक भएको लोकतान्त्रिक गणतन्त्रको स्थानीय निर्वाचनबाट सुरु भएको नयाँ युगको पथप्रदर्शक बन्न सफल चुरे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर साउद अहिले जनताको भरोसामा दोश्रो कार्यकालमा क्रियाशील छन्। २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा जनताको अत्यधिक विश्वासका साथ वडाध्यक्षमा निर्वाचित भएका साउद जनताको मर्म र पीडासँग घुलमिल हुँदै वडाको समग्र विकासमा आफै केन्द्रित रहँदै आएका छन्।
उनको पाँच वर्षीय पहिलो कार्यकालमा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधार, सिँचाइ, खानेपानी, कृषि, तथा पर्यटकीय पूर्वाधार विकासमा उल्लेखनीय कार्य भएको छ। सीमित साधनस्रोत र दुर्गम भौगोलिक अवस्थाका बाबजुद जनगुनासालाई पहिलो प्राथमिकता दिँदै उपलब्ध बजेटलाई अधिकतम उपयोग गरेर उनले वडाको विकासमा उल्लेख्य उपलब्धि हासिल गरेका छन्। यही नै कारण हो, जनताले उनलाई पुनः अध्यक्षका रूपमा दोश्रो कार्यकालका लागि निर्वाचित गरेका छन्।
वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर साउद भन्छन्, “जनताको समस्यालाई आत्मसात गरेर काम गर्ने मेरो स्वभावकै कारण जनताले मलाई लगातार समर्थन गर्दै आएका छन्। सीमित स्रोत र साधनका बाबजुद जनतालाई सन्तुष्टि हुने खालका काम गर्न सफल भएको छु।”
उनले जनजीविकाका सवालमा सिमसार संरक्षणदेखि उद्यमशीलता प्रवर्द्धनसम्मका कामलाई पनि प्राथमिकतामा राख्दै आएका छन्। सिलाई-कटाई तालिम, उद्घोषण कला, युवा सीपमूलक कार्यक्रमजस्ता योजनाहरू उनले जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेका छन्। “समाजका हरेक तह, तप्कामा अवसरको सुनिश्चितता गर्दै सशक्तिकरणतर्फ उन्मुख गराउने मेरो योजना हो,” साउदले बताए।
वडामा विकास निर्माणसम्बन्धी कुनै पनि काम जनप्रतिनिधिहरूको सामूहिक सहमतिमा अघि बढाउने साउदको शैलीले गर्दा वडा सञ्चालनमा कुनै अवरोध सिर्जना भएको छैन। “वडाका सदस्यहरू सबैजनाको मतले काम हुने भएकाले कुनै किसिमको आपसी विवाद छैन,” उनले स्पष्ट पारे।
झन्डै तीन वर्षे दोश्रो कार्यकालका सन्दर्भमा उनले भने, “योजना अनुसार सबै काम सम्पन्न गर्न नसके पनि सन्तोषजनक रूपमा जनताको आवश्यकतालाई सम्बोधन गर्दै आएको छु।” उनका अनुसार शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी, सिँचाइ जस्ता आधारभूत आवश्यकता सम्बोधनमा वडाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ।
अध्यक्ष साउद देशको अस्थिर राजनीतिक अवस्था, आर्थिक कठिनाइ र सीमित बजेट व्यवस्थापनले गर्दा केही योजना अधुरो रहेको स्वीकार्छन्। तर उनी भन्छन्, “स्थायी सरकार र स्थायित्व पूर्ण राजनीतिक वातावरण भएमा मात्र विकास कार्यले गति लिन्छ। यही नै स्वाभाविक सत्य हो, जुन सबै जनप्रतिनिधि र जनताले बुझ्न जरुरी छ।”
दोस्रो कार्यकालमा पनि उनको लोकप्रियता यथावत छ। वडाका बासिन्दाहरू उनलाई ‘जनताको बीचको जनप्रतिनिधि’ भनेर सम्मान गर्छन्। निष्ठा, सरल स्वभाव र विकासप्रतिको प्रतिबद्धताले प्रेमबहादुर साउद चुरे गाउँपालिका वडा नम्बर ६ का लागि एक प्रेरणादायी नेतृत्वका रूपमा स्थापित भइसकेका छन्।
जनताको मर्म र भावना बुझेर सशक्त निर्णय गर्न सक्ने क्षमता, कार्यान्वयनमा चातुर्यता र सामाजिक सरोकारप्रति प्रतिबद्धता भएकाले प्रेमबहादुर साउदको नेतृत्वले वडाको समग्र रुपान्तरण सम्भव बनाउँदै गएको स्पष्ट देखिन्छ। यही नै कारण हो, वडावासीहरू उनलाई ‘नयाँ नेपालको नक्सामा चम्किरहेको स्थानीय नेतृत्व’का रूपमा चिन्ने गर्छन्।