गणतन्त्रको रक्षाका लागि नेकपा एमालेको विशेष सभा चैत २९ गते धनगढीमा

अत्तरिया, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ। पार्टीका प्रदेश सचिव रणबहादुर चन्दका अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको हो।

सचिव चन्दले उक्त सभा नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा पनि लिइएको बताए। उनले भने, “एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रुपमा यो सभा आयोजना हुँदैछ। अर्कोतर्फ, पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध पूर्वराजाका नाममा अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि गरिरहेका छन्। त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो।”

धनगढीको पार्कमोडमा आयोजना हुने सभालाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयं उपस्थित भई सम्बोधन गराउने प्रयास भइरहेको चन्दले जानकारी दिए। ओली उपस्थित नहुने अवस्थामा पार्टीका वरिष्ठ पदाधिकारीहरुको सम्बोधन गराउने तयारी गरिएको उनले बताए।

सभामा सुदूरपश्चिम प्रदेशका सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन चन्दले आग्रह गरेका छन्। परिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभामा कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट अनिवार्य सहभागिता सुनिश्चित गर्न उनले आग्रह गरे। पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ।

 

ताजा समाचार