दुर्गालक्ष्मी क्याम्पसमा चुनावी रौनक चुलिँदै, कक्षा कोठाको फोहोरले सुशासनको नारामा प्रश्नचिन्ह

अत्तरिया, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यही चैत्र २७ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। निर्वाचनको सन्दर्भमा क्याम्पसमा विद्यार्थी नेताहरू सक्रिय देखिएका छन् भने प्राध्यापकहरूसँग सुशासन र प्रशासनसम्बन्धी छलफल समेत भइरहेको छ।

क्याम्पसमा पुगेर विद्यार्थी नेताहरूले सुशासन, विद्यार्थी हक अधिकार र क्याम्पस सुधारका मुद्दालाई उठाउँदै आएका छन्। कक्षा कोठाहरूमा समेत गएर उनीहरूले शिक्षाको गुणस्तर र क्याम्पसको वातावरण सुधार गर्नुपर्ने धारणा राखेका छन्। यस्तै, प्राध्यापकहरूले पनि विद्यार्थीहरूको उत्साह, मर्यादित व्यवहार र चुनावप्रतिको जिम्मेवारीबोधको खुलेर प्रशंसा गरिरहेका छन्।

तर क्याम्पसको वास्तविक अवस्था भने नेताहरूका भाषण जत्तिकै उज्यालो छैन। कक्षा कोठा भित्र पस्दा देखिएको दुर्गन्ध र सरसफाइको चरम अभावले चुनावी माहोलमा उठाइएका सुशासनका नाराहरूको औचित्यमाथि प्रश्न उठाएको छ। दुर्गन्धित कक्षा कोठा, फोहोरको थुप्रो र अव्यवस्थित वातावरणले क्याम्पस प्रशासन र नेतृत्वप्रतिको  असन्तोष झल्काउँछ।

क्याम्पस भनेको केवल शिक्षा दिने थलो मात्र होइन, अनुशासन, शुद्ध वातावरण र सामाजिक उत्तरदायित्वको पाठ सिकाउने स्थल पनि हो। विद्यार्थी नेताहरूले घरदेखि क्याम्पससम्म सरसफाइ र सुशासनका कुरा गरे पनि व्यवहारमा ती कुरा लागू हुन सकेका छैनन्। क्याम्पसको अवस्थाले विद्यार्थी र टाईकोटले मात्रै अनुशासन देखाउँदैन, व्यवहारमै परिवर्तन आवश्यक हुन्छ भन्ने यथार्थ प्रकट भएको छ।

स्ववियु निर्वाचनले क्याम्पसमा नयाँ नेतृत्व दिनेछ, तर त्यो नेतृत्वले शिक्षाको मात्र होइन, वातावरण, व्यवस्थापन र सुशासनको पनि नेतृत्व गर्न सक्नेछ कि भन्ने आशा र चिन्ताको विषय बनेको छ। क्याम्पस स्वच्छ र अनुशासित भएपछि मात्रै उदाहरणीय बन्न सक्छ भन्ने सन्देश यसपटकको चुनावले दिन सक्छ कि सक्दैन, हेर्न बाँकी छ।

 

ताजा समाचार