अत्तरिया, कैलालीकाे अत्तरियास्थित दुर्गालक्ष्मी नमुना विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर ‘म्याराथन दौड -२०८१’ आयोजना गरिने भएको छ। विद्यालयका पूर्वविद्यार्थीहरूको मञ्चले आगामी चैत्र २९ गते उक्त म्याराथन आयोजना गर्ने भएको हो।
मञ्चका अध्यक्ष नारद प्रसाद भट्ट का अनुसार ‘दुर्गालक्ष्मी दौडिन्छ’ नाम दिएर आयोजना गरिने म्याराथन विद्यालय प्राङ्गणबाट सुरु भई तेघरीस्थित बनदेवी मन्दिर पुगेर पुनः विद्यालयमै फर्किनेछ।
म्याराथनमा सहभागी हुन इच्छुक धावकहरूले चैत्र २८ गते साँझ ७ बजेभित्र नाम दर्ता गराउनु पर्नेछ। दर्ता शुल्क रु ५०० निर्धारण गरिएको छ भने सहभागीहरूलाई आयोजकले टिसर्ट उपलब्ध गराउनेछ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने धावकलाई रु २१,१११, दोस्रो हुनेलाई रु ११,१११ र तेस्रो हुनेलाई रु ५,१११ नगद पुरस्कार प्रदान गरिनेछ।
केही दिनअघि मात्रै गठन भएको पूर्वविद्यार्थी मञ्चले विद्यालयमा अध्ययन गरेका विश्वभर रहेका विद्यार्थीहरूलाई भावनात्मक रूपमा जोड्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको मञ्चका सचिव तेज खड्काले जानकारी दिएका छन् ।
विद्यालयको स्वर्ण जयन्तीलाई विशेष बनाउन थप कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकले जनाएको छ।