अत्तरिया, लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको संघीयताको मर्मअनुसार देशमा तीन तहका सरकारहरू गठन गरिए, जसमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको छ। २०७४ सालमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि चयन भए, जसले सरकार सञ्चालन गर्दै विकासका विविध योजनाहरूलाई कार्यान्वयन गरे। त्यसपछि, २०७९ सालमा दोस्रो पटक स्थानीय तहमा निर्वाचन सम्पन्न भई पुनः जनप्रतिनिधिहरू निर्वाचित भए।
गोदावरी नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थीले आफ्नो कार्यकालमा जनताको अपेक्षाहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै विभिन्न विकास योजनाहरूलाई प्राथमिकता दिएका छन्। तीन वर्ष पूरा हुन लाग्दा उनले आफ्नो वडामा सम्पन्न तथा सञ्चालनमा रहेका योजनाहरूबारे जानकारी गराएका थिए।
वडाध्यक्ष अवस्थीले सडक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको बताएका छन्। उनका अनुसार, झण्डै पाँच किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ भने अन्य सडकहरूमा ग्राभेल तथा ढलान पानी पिच कार्य गरिएको बताउनुभयो।
उनले जनताको सहज यातायात पहुँचलाई मध्यनजर गर्दै आगामी दिनमा थप सडक स्तरोन्नति गर्ने योजना रहेको समेत बताएका हुन्। गोदावरी वडा नम्बर ३ का प्रत्येक घरधुरीमा शुद्ध खानेपानी पुर्याउने उद्देश्यले वडाभित्र तीनवटा पानी ट्यांकी निर्माण भइरहेको र अहिले पनि खानेपानी विस्तार र घरघरमा खानेपानीको पहुँचमा पुर्याएको समेत बताएका छन्। यस योजनाले स्थानीय बासिन्दालाई स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्नेछ,उनले भने ।
खानेपानीका समस्या समाधानका लागि वडाले विशेष पहल लिएको जानकारी गराएका थिए। शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले वडाध्यक्ष अवस्थीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरूसँग नियमित छलफल गर्दै आइरहेको बताउँदै, सामुदायिक विद्यालयहरूमा भर्ना दर वृद्धि गर्न घरदैलो अभियान सञ्चालन गर्ने योजनासमेत उनले बताउनुभएको थियो।
वडाभित्र रहेको मालाखेती अस्पतालबाट स्थानीयवासीलाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ मिलेको छ। अवस्थीका अनुसार, स्वास्थ्य क्षेत्रलाई अझ व्यवस्थित बनाउन वडाले पहल गर्दै आएको छ। प्राथमिक स्वास्थ्य सेवा सुलभ बनाउने र आवश्यक पूर्वाधार थप्ने योजनामा नगरपालिकासँग हामीले छलफल र सरोकार निकायहरूसँग पनि यस विषयमा बहस र योजनाहरू अगाडि बढाएको बताएका थिए।
कृषि उत्पादनमा वृद्धि गर्न वडाले सिँचाइ प्रणाली सुधारका लागि पहल गरेको छ। विभिन्न समूहगत सिँचाइ योजनाहरू सञ्चालन गर्दै बोरिङ तथा अन्य उपकरणहरू प्रदान गरिएका छन्। यसले किसानहरूलाई उत्पादन बढाउन सहयोग पुगेको वडाध्यक्ष अवस्थी बताउँछन्। वडाले सिलाई, कटाई, प्लम्बिङलगायत विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ। स्थानीय युवा तथा महिलाहरूलाई रोजगारीमुखी बनाउन यी तालिमहरू प्रभावकारी रुपमा अगाडि बढाएका छन्।, वडाले आगामी दिनमा थप रोजगारमुखी तालिमहरू सञ्चालन गर्ने योजना बनाइरहेको छ। खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै वडाले नमुना खेलमैदान निर्माण गरिरहेको छ।,
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै खेल पूर्वाधार निर्माणलाई गति दिइएको छ। स्थानीय युवाहरूलाई खेलकुद गतिविधिमा संलग्न गराउन आवश्यक संरचनाहरू विकास गरिँदै अगाडि बढाइरहेको समेत उहाँले बताउनुभएको थियो। जनताका अपेक्षाहरू उच्च छन्, तर सीमित बजेट तथा स्रोतसाधनका कारण केही चुनौतीहरू छन्। जनताका गुनासा सुन्ने, समस्या समाधान गर्ने र विकासका गतिविधिलाई तीव्रता दिन वडा कार्यालय पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए। साथै, जनताले उठाएका मुद्दाहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्न पहल समेत हुने उनले बताउनुभयो।
वडाध्यक्ष अवस्थीले बाँकी दुई वर्षको कार्यकालमा वडा कार्यालय भवन निर्माण, सडक स्तरोन्नति, स्वास्थ्य सेवा सुधार तथा शिक्षा प्रवर्द्धनलाई प्राथमिकता दिने बताएका छन्। जनअपेक्षालाई सम्बोधन गर्दै वडाको समग्र विकासलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै उनले आगामी योजनाहरू कार्यान्वयन गर्न निरन्तर लागिपर्ने बताएका थिए।
विकास एक निरन्तर प्रक्रिया हो। वडाध्यक्ष अवस्थीका अनुसार, अघिल्लो कार्यकालका उपलब्धिहरूलाई आधार बनाएर अघि बढ्नु आवश्यक छ। समन्वयात्मक भूमिकाबाट वडाको समग्र उन्नति गर्ने लक्ष्यसहित आफू जनताको विकासकाे डोरीमा केन्द्रित रहेको उनले प्रष्ट पारेका छन् ।