अत्तरिया,नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानाले आफ्नो नाम जोडेर आएको अडियो प्रकरणलाई ‘बेकारको बहस’ बताएका छन्। धनगढीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले अडियो र समाचारबीच कुनै तालमेल नरहेको दाबी गरे।
“अडियोलाई काटछाँट गरेर जोडिएको देखिन्छ,” नेता रानाले भने, “म प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लक्ष्मण किशोर चौधरीले बोलाएपछि मात्र क्वार्टरमा गएको हुँ। उहाँले मलाई ‘दाइ’ भन्नुहुन्छ, सुझाव माग्न बोलाएकाले गएको हुँ। मैले आफूले जानेको सुझाव दिएको हुँ। अन्य के–के भयो, त्यो अडियो कहाँबाट कसरी जोडियो, मलाई थाहा छैन।”
पूर्वमन्त्रीसमेत रहेका नेता रानाले अडियो प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए पार्टीको जुनसुकै निर्णय स्वीकार गर्न तयार रहेको बताए। साथै, उनले पार्टीभित्रकै जिम्मेवार व्यक्तिहरूका स्वकीय सचिवहरू आफूविरुद्ध लागेको सूचना पाएको दाबी गर्दै त्यसबारे पार्टी इञ्चार्ज र महासचिवसमक्ष जानकारी गराउने बताए। केही दिनअघि सार्वजनिक भएको उक्त अडियो प्रकरणपछि उद्योगमन्त्री चौधरीले राजीनामा दिइसकेका छन्।