अत्तरिया,कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा अवस्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले ५० औं स्वर्ण महोत्सवको तयारी तिव्र पारिएको छ। आगामी चैत्र २७ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सव भव्य र सफल बनाउन विद्यालयले विभिन्न कार्य समिति गठन गरी तयारी अघि बढाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहका अनुसार स्वर्ण महोत्सवको प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गर्ने तयारी भइरहेको छ। साथै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा मन्त्री विद्या भट्टराई , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सामाजिक अभियन्ता महावीर पुन, तथा विश्वप्रसिद्ध नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलगायत विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा पठाइएको छ।
विद्यालयका प्रधानाध्यापक एवम् मूल समारोह समिति सदस्य सचिव शिवराज जोशीका अनुसार महोत्सवको पूर्व सन्दर्भमा आयोजना गरिएका विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सम्पन्न भइसकेका छन्। विद्यालयको स्वर्ण जयन्ती अवसरलाई शिक्षा, संस्कृति र सामाजिक चेतनासँग जोड्दै ऐतिहासिक बनाउन आयोजक पक्ष जुटिरहेको छ।