अत्तरिया,कैलालीको अत्तरियामा शुक्रबार राजावादी समर्थक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरूले वैदिक सनातन धर्मसहितको हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन्। ‘हिन्दू राष्ट्र कायम गर’, ‘राजा आऊ देश बचाऊ’, ‘कुलमान घिसिङलाई पुनर्बहाली गर’ जस्ता नारासहित उनीहरूले अत्तरियाको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै र्याली निकालेका हुन्।
र्यालीको समापनमा अत्तरियाको चौराहमा कोणसभा समेत आयोजना गरिएको थियो। कोणसभामा वक्ताहरूले धर्म, संस्कृति र राष्ट्रियताको संरक्षणका लागि हिन्दू राज्य अपरिहार्य भएको दाबी गरे। उनीहरूले गणतान्त्रिक व्यवस्थाले देशलाई अस्थिरता, भ्रष्टाचार र विदेशी हस्तक्षेपमा फसाएको आरोप लगाए।
प्रदर्शनमा सहभागी राप्रपाका स्थानीय नेताहरूले नेपाली जनताको पहिचान, संस्कार र सभ्यताको रक्षा गर्ने एक मात्र विकल्प हिन्दू राज्य रहेको बताए। उनीहरूले वैदिक सनातन मूल्यमान्यतामा आधारित शासन प्रणालीको माग गर्दै धर्म निरपेक्षता खारेज गर्नुपर्ने तर्क प्रस्तुत गरे।
कार्यक्रममा बोल्दै एकजना वक्ताले ऊर्जा क्षेत्रमा कुशल कार्यसम्पादन गरेका कुलमान घिसिङलाई हटाउनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनलाई पुनः बहाली गर्न सरकारसँग माग गरे। प्रदर्शनमा स्थानीय युवा, महिलासहित सयौँको संख्यामा नागरिकहरूको सहभागिता रहेको थियो।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अवाञ्छित घटना नघटेको प्रहरीले जनाएको छ।